• १६ वैशाख २०८२, मङ्गलबार

सडक स्तरोन्नतीले यात्रा सहज

blog

विपी राजमार्गअन्तर्गत सिमलतारा–मुलाबारी हुँदै हाँसीपुर जोड्ने सडक । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, वैशाख १६ गते । सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल हुँदै लुम्बिनी प्रदेशको राजधानी जोड्ने विपी मार्ग स्तरोन्नति भएसँगै स्थानीयलाई सहजता भएको छ । सडक विस्तारसँगै खोलाहरूमा कल्भर्ट निर्माण भएपछि ठुलो पानी पर्दासमेत स्थानीयलाई सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्डमा हिँडडुल गर्न सहज भएको हो । 

भौगोलिक विकटतासँगै राम्रो सडक नहुँदा बर्सेनि दुःख पाउने गरेका बङ्गलाचुली गाउँपालिकाअन्तर्गत वडा नं. ३, ४, ६ र ८ नम्वर वडावासीले विपी मार्गअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्ड स्तरोन्नति भएसँगै नियमित बस सञ्चालन हुन थालेपछि सहज हुँदै गएको छ । साँघुरो सडक विस्तारसँगै ग्राभेल भएपछि सडकको अवस्थामा सुधार भएको बङ्गलाचुली गाउँपालिका–४ मुलवारी निवासी चुमा राना बताउनुहुन्छ । सडक राम्रो हुँदा नियमित रूपमा गाडी गाउँसम्मै आउने गरेको र जस्ले गर्दा स्थानीयलाई बजारसम्म पुग्न पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ ।  

सडक स्तरोन्ति नहुँदा हिउँदमा गाडी चल्ने गरेपनि वर्षामा सिमलतारासम्म हिड्नुपर्ने भए पनि अहिले त्यो बाध्यता हटेको बताउनुभयो । सडक निर्माणसँगै अप्ठेरो ठाउँमा सडक ढलान गरिएपछि पानी परेको बेला पनि बस आउन सक्ने भएको भन्दै उहाँले भन्नुभयो, ‘सडक विस्तारसँगै अप्ठेरो ठाउँमा सडक ढलान गरिएको छ । जस्ले गर्दा पानी परेको बेला पनि बस चल्ने गर्दछ ।’ तर सुकाखोला र अर्जुनखोलामा पुल नहुँदा ठुलो खोला आयो भने समस्या हुने गरेको बताउनुभयो । सिमलतारासम्म सडक कालोपत्रे भएको हुँदा वर्षाको समयमा स्थानीयलाई त्यहाँसम्म हिँड्नुपर्ने भए पनि अहिले त्यो बाध्यता हटेको बताउनुभयो । 

सडक निर्माणसँगै मुलावासी, हाँसीपुर लगायतका स्थानीयको वर्षाैंदेखिको दुःख हटेको बङ्गलाचुली गाउँपालिका–८ खैरेनी निवासी तिलक घर्ती बताउनुहुन्छ । जङ्गलमा साघुरो र अप्ठेरो सडकका विगतमा धेरै दुःख पाउने गरे पनि अहिले त्यो हटेको बताउनुभयो । 

स्थानीयको सबैभन्दा ठुलो आवश्यकताका रूपमा रहेको सडक सुधार हुँदै जाँदा स्थानीयलाई सहजता भएको भन्दै घर्तीले भन्नुभयो,‘राम्रो सडक नहुँदा स्थानीयले धेरै दुःख पाउने गरेका थिए । अहिले पिचै नभए पनि सडक ग्राभेल भएर राम्रो भएको छ ।’ सडक सुधारसँगै सुकाखोला र अर्जुनखोलामा पुल निर्माण भइदिए बाह्रै महिना गाडी चल्ने बताउनुहुन्छ । 

विपी मार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको सडक स्तरोन्नति भएसँगै स्थानीयलाई सहजता भएको हो । 

सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङेसाल सडक खण्ड अन्तर्गतको सिमलतारादेखि हाँसीपुरसम्मको करिब १७ किलोमिटर सडकको स्तरोन्नति गर्ने काम भएको थियो । सडक विस्तारसँगै नाला, पर्खाल निर्माण, खोलामा कल्भर्ट निर्माणसँगै ग्राभेल गर्ने काम गरिएको सडक पूर्वाधार कार्यालय दाङले जनाएको छ  । 

सडक निर्माणले जिल्लाको मूलाबारी, हाँसीपुरलगायतका बस्तीका स्थानीयलाई सहजतासँगै दाङ उपत्यकालाई देउखुरीको भालुवाङमा रहेको लुम्बिनी प्रदेशको राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रूपमा लिने गरिन्छ । 

सडक स्तरोन्नतीको काम वाइला एन्ड लामा तिरुपाते सिद्धान्त जेभीले २७ करोड ७० लाख ६५ हजार ३४३ रुपियाँको लागतमा भएको सडक पूर्वाधार कार्यालय दाङका प्रमुख मनिष अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त सडकअन्तर्गत भैसाहीदेखि सिमलतारासम्म कालोपत्रे भइसकेको र अब बजेटको व्यवस्था भएमा बाँकी सडक पनि कालोपत्रे गरिने बताउनुहुन्छ । 

खोलाहरूमा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीका साधनहरू सञ्चालनमा समस्या हुने गरेको थियो । गाडीहरू नचल्दा स्थानीयलाई हिँड्नुपर्ने बाध्यता थियो  ।