सुधा देव
भारदह (सप्तरी), असार २ गते । बलान बिहुल गाउँपालिकालाई केन्द्रीय विपद् व्यवस्थापन समितिले ५० लाख बजेट उपलब्ध गराएको छ ।
सप्तरी जिल्लाको १८ पालिकामध्ये एक मात्र बलान बिहुल गाउँपालिका सङ्कटग्रस्त घोषणा भएकाले यस पालिकालाई समितिले उक्त बजेट उपलब्ध गराएको हो ।
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यालवले प्राप्त बजेटले विपदमा परेका जनतालाई सहयोग गर्ने बताउनुभयो ।
प्रत्येक वर्ष बलान नदिमा आउने बाढीका कारण यस क्षेत्रका तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएकाले ती परिवारलाई यस रकमले सहयोग गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘पीडितको अवस्था हेरेर नगद वा सामग्री उपलब्ध गराइनेछ । पालिकाका करिब तीन सय परिवार बाढीबाट प्रभावित छन् । बलान नदी नियन्त्रणका लागि पालिकामा ३० लाख बजेट आएको छ ।’’
सिँचाइ कार्यालयमा आएको यो बजेटले अहिलेसम्म काम सुरू नगरेको जानकारी दिँदै अध्यक्ष यादवले भन्नुभयो, ‘‘काम सुरू गर्न कार्यालयसँग आग्रह गरेको छु ।’’