एकेन्द्र महता
अछाम, असार २ गते । अछामको चौरपाटी गाउँपालिका– ७ मार्कुमा चट्याङ पर्दा एक महिला घाइते भएकी छन् भने तीन वटा बाख्रा मरेका छन् ।
आइतबार राति करिब २ बजे हर्कबहादुर बोगटीको घरमा चट्याङ परेको हो । चट्याङका कारण घरको गोठमा बाँधिएका तीन वटा बाख्रा तत्कालै मरेका छन् ।
उक्त घटनामा बोगटीकी श्रीमती अन्दाजी २५ वर्षीया चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घटनापछि चौखुट्टे प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक पदम सिंह साउदको नेतृत्वमा तीन जनाको टोली तत्कालै घटनास्थलमा खटिएको चौरपाटी गाउँपालिका वडा नम्बर ७, मार्कुका वडा अध्यक्ष ललितबहादुर बोगटीले जानकारी दिनुभयो ।