अमरराज नहर्की
तनहुँ, असार १ गते । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ कमलबारीमा स्कुटर आइतबार दिउँसो १ः४५ बजे दुर्घटना हुँदा चालक (छोरा) को मृत्यु भएको छ । बुवा घाइते हुनुभएको छ ।
दमौलीबाट डुम्रे जाँदै गरेको ग. २५ प. ४१३ नम्बरको स्कुटरको चालकले नियन्त्रण गुमाई सडकमा पल्टन जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखाको गोरखा नगरपालिका–१३ अबुवा देउराली बस्ने वर्ष २२ को आसिक बाबु नरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा पछाडि सवार मृतककै बुवा कृष्णप्रसाद नराल घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो । दुबै घाइते भएपछि प्रादेशिक अस्पताल दमौलीमा उपचारका लागि ल्याइएकोमा छोरालाई मृत घोषणा गरिएको बुवालाई थप उपचारका लागि पोखरा लगिएको थापाले बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।