• १ भदौ २०८१, शनिबार

म्याग्दीको पर्यटन प्रवर्द्धन गर्न फोटो प्रतियोगिता

blog

प्रतियोगिताको जानकारी दिन आयोजित कार्यक्रमका सहभागिहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौ १ गते । म्याग्दीको पर्यटन प्रवर्द्धनका लागि विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यले खुल्ला फोटो प्रतियोगिताको आयोजना गरिने भएको छ । शनिबार म्याग्दी उद्योग वाणिज्य सङ्घ र मोना अष्ट्रेलियाले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।  

पेसा व्यवसाय, रोजगारी र अध्ययनका क्रममा म्याग्दीबाट अष्ट्रेलिया पुगेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) अष्ट्रेलियाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको सहकार्यमा जिल्ला पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले एकलाख पुरस्कार राशिको फोटो प्रतियोगिता गर्न लागेको हो । 

मोना अष्ट्रेलियाको फेसबुक पेजमार्फत पर्यटकीय स्थल र मौलिक कला संस्कृति झल्किने तस्बिरहरू प्रदर्शन गरिने मोना अष्ट्रलियाका सदस्य एवम् प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार एकलाख, द्वितीय ५० हजार र तृतीय पुरस्कार २५ हजार रुपियाँ निर्धारण गरिएको छ । प्रतियोगिताका लागि  भदौ १ गते देखि १४ गते सम्म फोटो पठाइसक्नुपर्ने छ । 

फोटो प्रतियोगितामा सहभागीले जिल्ला भित्रको कुनैपनि पर्यटकीय स्थल वा मौलिक कला संस्कृति झल्किने फोटोका बारेमा कम्तीमा पाँचसय शब्द सहित आफ्नो ठेगाना र नाम उल्लेख गरी पठाउनुपर्ने मोना अष्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताउनुभयो  । 

फेसबुक पेजमा राखिएको उक्त फोटोलाई लाईक, शेयर र कमेन्टको आधारमा मूल्याङ्कन गरिने आयोजकले जनाएका छन् । प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपालीहरूले सहभागिता जनाउने सक्नेछन् । 

प्रतियोगिताको नतिजा भदौ १९ गते सार्वजनिक गरिने आयोजकले जनाएका छन् । पेसा व्यवसाय र रोजगारीका क्रममा विदेशमा रहेपनि आफ्नो जन्म भूमिको पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भनेर फोटो प्रतियोगिताको आयोजना गरिएको मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताउनुभयो । फोटो प्रतियोगिताले जिल्लाको पर्यटकीय स्थल र मौलिक कला संस्कृतिलाई  विश्वभर चिनाउन सहयोग पुग्ने नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।  

फोटो प्रतियोगिताले म्याग्दीको पर्यटकीय स्थलहरूको संसारभर प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।