• ३२ साउन २०८१, शुक्रबार

शिरीषको 'देश फर्किरहेको देश' प्रथम

blog

खुला कविता प्रतियोगिताको उद्घाटन गर्दै सरुभक्त ।

अर्जुन काफ्ले

स्याङ्जा, साउन ३१ गते । लेखक तथा कवि सुन्दर शिरीष (सिन्धुपाल्चोक) को 'देश फर्किरहेको देश' खुला कविता प्रतियोगिता २०८१ मा प्रथम भएको छ । पुतलीबजार नगरपालिका-१ मा बिहीबार भएको प्रतियोगितामा २० वटा कवितालाई पछाडि पार्दै प्रथम भएको कविताका लेखक शिरीषलाई १५ हजार ५५५ रुपियाँ र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नुभएको हो । 

पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथितको सम्झनामा कविता महोत्सव तथा खुला कविता प्रतियोगिता गरिएको हो । प्रतियोगितामा राजन सुबेदी दीपक (झापा) को “हराएको देश” द्वितीय, चन्द्रवती अधिकारी (बाँके) को “अ आए” तृतीय र विनायक पन्त (तनहुँ) को ब्रह्माण्ड मस्तिष्क र सम्झना थापा मगर (स्याङ्जा) को सम्झनु त्यही मेरो देश हो सान्त्वना भएको कार्यक्रम संयोजक अनन्त कुमार श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा द्वितीयले ११ हजार १११, तृतीयले सात हजार ७७७ र सान्त्वनाले तीन हजार ३३३ रुपियाँ पुरस्कार सहित प्रमाणपत्र पाएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा विजेतालाई नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुरस्कार प्रदान गर्नुभएको थियो । 

“नेपाली भाषा, कला, संस्कृति, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ गरिएको महोत्सव तथा प्रतियोगितामा अमेरिका, बेलायत र मलेसियासहित ४८ जिल्लाका १९९ कवितामध्ये १४ जिल्ला २० उत्कृष्टमा प्रतिस्पर्धा गराइएको थियो । छानिएका उत्कृष्टको कविता वाचन पश्चात् निर्णायकले विजेता छान्नुभएको हो । 

कार्यक्रममा पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाउँपालिका-१ र एसइई २०८१ मा जिल्ला टपर सुशान मरासिनीलाई सम्मान गरेको हो । 

यस्तै ट्रष्टले सामुदायिक विद्यालयका विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिकाका-४ वटा विद्यालयका पाँच सय विद्यार्थीलाई झोला, कपी, कलम सहितका शैक्षिक सामग्री वितरण गरेको हो ।