• ८ जेठ २०८१, मङ्गलबार

बीबीए कप क्रिकेटमा पब्लिक युथलाई ह्याट्रिक उपाधि

blog

उपाधिसहित पब्लिक युथ क्याम्पसका खेलाडी । तस्बिर सौजन्य : विराट रायमाझी

काठमाडौँ, वैशाख २३ गते । आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेस्रो पटक टियु बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआईटी) लाई १२ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो । 

पब्लिक युथले दिएको १ सउ ५० रनको विजय लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले निर्धाीरत २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३७ रनमा समेटिएको थियो। केसीएमआईटीका सुबास सापकोटाले सर्वाधिक ५३ रन बनाउनुभयो । अमित मरहठ्ठाले ३१ रन बनाउनुभयो । बलिङमा पब्लिक युथका दिवश भट्टराई र सुशान्त सिंहले दुई दुई तथा रबिन साउद र सुबोध लामिछानेले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरेको पब्लिक युथ क्याम्पसले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। पब्लिक युथको लागि रबिन साउदले सर्वाधिक ६२ रन बनाउनुभयो । इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ र सुनिल थापाले १५ रन बनाउनुभयो। बलिङमा केसीएमआईटीका सक्षम उप्रेती, सुबाश सापकोटा र सवन भण्डारीले एक एक विकेट लिनुभयो । 

उपाधिसँगै पब्लिक युथले ८५ हजार रुपियाँ पायो । उपविजेता केसीएमआईटीले ४५ हजार रुपियाँमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक युथका रबिन साउद घोषित हुनुभयो । उत्कृष्ट बलर पब्लिक युथका दिवस भट्टराई र ब्याट्सम्यान सुशान्त सिंह चुनिनुभयो । 

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पसले भाग लिएका थिए ।