• ८ वैशाख २०८३, मङ्गलबार

कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख ८ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको संसदीय दलको नेता निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । सहमहामन्त्री रसाइलीले सोमबार निर्वाचन कार्यतालिका प्रकाशित गरिएको र वैशाख १० गते विधान तथा निर्वाचन निर्देशिकाका सन्दर्भमा सांसदसँग छलफल, मतदाता नामावली प्रकाशन, मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने बताउनुभयो । उहाँले वैशाख ११ गते उम्मेदवारी दरखास्त, उम्मेदवारको नामावलीसहित उम्मेदवारको अन्तिम नामावली गरेर मतदान गरी निर्वाचन परिणाम घोषणा गरिने जानकारी दिनुभयो ।

अनुसन्धान गर्न माग 

कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेको छ । प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत गृहमन्त्री गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनु पर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।”