रामकृष्ण बोहरा
बागलुङ, वैशाख ८ गते । बागलुङ नगरपालिका वडा नं. ७ को कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सोमबार कालीमाटीस्थित वडा कार्यालयको भवन उद्घाटन गरिएसँगै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
नगरपालिकाको पहिलो चरणमा २५ लाख र दोस्रो चरणमा १५ लाख गरी ४० लाख रुपियाँको लागतमा वडा कार्यालयको भवन निर्माण गरिएको हो । वडा अध्यक्ष मेघनाथ शर्माका अनुसार भवन निर्माणसँगै वडावासीलाई सेवा लिन सहज भएको र कर्मचारीलाई पनि व्यवस्थित वातावरणमा काम गर्न पाउने अवस्था सिर्जना भएको छ ।
भवनमा सेवाग्राही कक्ष, बैठक कक्ष तथा आवश्यक प्रशासनिक संरचना समावेश गरिएको छ । भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको वडाध्यक्ष गैरेले बताउनुभयो । नयाँ भवनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै वडाबासीले दीर्घकालीन सदुपयोगमा जोड दिएका छन् ।
भवनको नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले सबै वडा र कार्यालय स्मार्ट भए सेवा पनि स्मार्ट हुने तर्क गर्नुभयो । ‘‘नयाँ भवनमा बसेर काम गर्ने कर्मचारीले सोच पनि नयाँ बनाउँदा सेवाग्राही लाभान्वित हुन्छन्’’ श्रेष्ठले भन्नुभयो ।
स्थानीय सरकार गठनपछि पूर्वाधार विकासले गति लिएको उल्लेख गर्दै श्रेष्ठले जनतालाई प्रभावकारी सेवाप्रवाह गर्न भौतिक संरचना अपरिहार्य आधार भएको बताउनुभयो । आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार गरेर सुशासन दिने उहाँको भनाई थियो ।
नगर उपप्रमुख खड्काले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधारसँगै जनशक्ति र व्यवस्थापन पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।