• ८ मंसिर २०८१, शनिबार

कलेजो प्रत्यारोपणमा फड्को

blog

पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सबै डराएका थिए । त्यहीबिच एउटी छोरीले बुवालाई कलेजो दान दिने भएपछि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सम्भव भयो । त्यस बेला भारतबाट आएका विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो । पहिलो प्रत्यारोपणमा १८ घण्टा लागेको थियो ।

हालसम्म नेपालमा मिर्गौला र कलेजोबाहेक अन्य अङ्गको प्रत्यारोपण हुन सकेको छैन । मिर्गौला र कलेजो प्रत्यारोपणको इतिहास पनि धेरै लामो छैन । नेपालमै पहिलो पटक सन् २००८ मा वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । सरकारले १२ वर्षअघि मानिसको अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्‍यो । हाल उक्त केन्द्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नामबाट सञ्चालित छ । सुरुमा उक्त केन्द्रबाट मिर्गौला प्रत्यारोपण गर्न सुरु गरियो । बिस्तारै नेपालमा कलेजो प्रत्यारोपण हुन थाल्यो । मानिसको अङ्ग प्रत्यारोपण आफैँमा जटिल चिकित्सकीय विषय हो । त्यसमा पनि कलेजो प्रत्यारोपण धेरै जटिल मानिन्छ तर नेपालमा कलेजो प्रत्यारोपणले गति लिँदै गएको छ । कलेजो प्रत्यारोपणमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख हुँदै गएको छ । 

कलेजो प्रत्यारोपणको इतिहास

नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । त्यसमा पनि कलेजो प्रत्यारोपण त केही वर्षअघिदेखि मात्र सुरु भएको हो । अत्यन्तै जटिल र महँगो उपचार मानिने कलेजो प्रत्यारोपणको सुरुवात सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट भएको हो । दक्षिण कोरियाका अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकको सहयोगमा केन्द्रले पहिलो पटक २०७३ मङ्सिर २२ गते कलेजोको सफल प्रत्यारोपण गरेको थियो । पाँच जना अन्तर्राष्ट्रिय चिकित्सकको टोली, प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठसहितको नेपाली चिकित्सकको टोलीले १० घण्टा लगाएर पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । भक्तपुरका ३६ वर्षीय बलराम नागाको कलेजो प्रत्यारोपण गरिएको थियो । बलरामलाई उहाँकी दिदी ४१ वर्षीय सानुमाया लागेजूले कलेजो दान गर्नुभएको थियो ।

संसद्ले मानव अङ्ग नियमन तथा प्रत्यारोपणसम्बन्धी नियमावलीले ‘ब्रेन डेथ’ भएका बिरामीबाट कलेजोसँगै अन्य सात अङ्ग निकालेर प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेपछि पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसअघि कसैले दान गरे मात्रै कलेजो प्रत्यारोपण गर्न सकिन्थ्यो । ‘ब्रेन डेथ’ कानुनले कलेजो प्रत्यारोपणको बाटो खुला गरिदिएको थियो । दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरका चिकित्सकको टोलीले कलेजो प्रत्यारोपणमा सहयोग गरेको थियो । कोरियन ट्रान्सप्लान्ट सोसाइटीका अध्यक्ष प्राध्यापक डा. जेइवन जो, प्राध्यापक डा. चुन ह्युक डेभिड कोन नेतृत्वको टोली र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वमा १५ नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नतामा प्रत्यारोपण भएको थियो । 

आत्मनिर्भरतर्फ कलेजो प्रत्यारोपण

नेपालमा कलेजो प्रत्यारोपण आत्मनिर्भरतर्फ अगाडि बढेको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच जनाको कलेजो प्रत्यारोपण विदेशी चिकित्सकबिना सम्पन्न भइसकेको छ । त्यहाँ प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको छ । यसअघि १० जनाको प्रत्यारोपण विदेशी चिकित्सकको साथ लिएर गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा भने हाल विदेशी चिकित्सकको सहारा लिनुपर्ने अवस्था छैन । शिक्षण अस्पतालमा २०७६ जेठ १७ गते कलेजो प्रत्यारोपण सुरु भएको हो । कलेजो प्रत्यारोपणका लागि अनुमति पाएको पाँच महिनापछि मात्र कलेजो प्रत्यारोपण सुरु भएको थियो । प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी भन्नुहुन्छ, “कलेजो प्रत्यारोपणका लागि कसले रिस्क लिन्छ नयाँ ठाउँमा, पैसा पनि धेरै लाग्छ भन्ने विषय पनि उठेका थिए ।” नागरिकलाई कलेजो प्रत्यारोपणबारे सुसूचित गराउन थालियो । प्रत्यारोपणका लागि अनुमति आयो तर सुरुमा बिरामी आएनन् । जुन शङ्का गरिएको थियो त्यही भएको थियो । बिरामी आउँछन्, पहिलो पटक भन्ने बित्तिकै उपचार गर्दैनन् । सक्नेहरूले विदेश गएर प्रत्यारोपण गर्न थाले । पहिलो पटक प्रत्यारोपण गर्न सबै डराएका थिए । त्यहीबिचमा एउटी छोरी बुवालाई कलेजो दान दिने भनेर आएपछि त्रिविमा कलेजो प्रत्यारोपण सम्भव भयो । चिकित्सकले धेरै सम्झाएपछि मात्र उनी कलेजो प्रत्यारोपणका लागि तयार भएकी थिइन् । त्यस बेला भारतबाट विशेषज्ञ आएर प्रत्यारोपण गरिएको थियो । शिक्षणमा १८ घण्टा लगाएर पहिलो प्रत्यारोपण सम्पन्न भएको थियो । 

पहिलो कलेजो प्रत्यारोपण 

कलेजो प्रत्यारोपणसम्बन्धी तालिम लिएर आएपछि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको कुरा गर्दा वरिष्ठ चिकित्सकहरूले समेत पत्याउन सकेका थिएनन् । त्यस बेला डा. भण्डारीलाई बेकारमा कलेजो प्रत्यारोपणको तालिम लिएछु कि जस्तो आभास भएको थियो । बिस्तारै कलेजो प्रत्यारोपण गर्न सम्भव भएपछि आफ्नो ठुलो सपना पूरा भएको भन्दै डा. भण्डारी धेरै खुसी हुनुभएको थियो । पहिलो पटक प्रत्यारोपण गर्ने मानिस काठमाडौँकै थिए । छोरीले बुवालाई कलेजो दिएकी थिइन् । कति मानिसले विश्वास पनि गरेका थिएनन् । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुनु ठुलो कोसेढुङ्गा थियो । त्यसको दुई महिनापछि दोस्रो प्रत्यारोपण गरियो । त्यस बेला फोर्टिस अस्पतालका चिकित्सकहरूले सहयोग गरेका थिए । 

प्रत्यारोपण खर्च ३५ लाखसम्म

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि कम्तीमा २५ लाखदेखि ३५ लाख रुपियाँसम्म खर्च हुने गर्छ । त्रिवि शिक्षण अस्पतालमा तिर्नुपर्ने रकम धेरै हँुदैन । हालसम्म १५ जनाको प्रत्यारोपण गर्दा डिस्चार्ज हुँदासम्म २५ देखि ३५ लाख रुपियाँसम्म खर्च भएको पाइएको छ । यसमा पनि ८०/९० प्रतिशत खर्च औषधीमा जाने गर्छ; जुन बिरामीले किन्नु पर्छ । औषधी पनि महँगो हुन्छ । 

सरकारमातहत रहेको धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको खर्च १५ देखि २० लाख रुपियाँसम्म रहेको छ । उक्त केन्द्रका प्रत्यारोपण सर्जन तथा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार कलेजो प्रत्यारोपण गर्न भारत जाने हो भने एक करोडदेखि डेढ करोड रुपियाँसम्म खर्च हुन्छ । यसमा बस्ने, खाने, आउनेजाने खर्च छुट्टै लाग्छ । भारत गएर कलेजो प्रत्यारोपण गराउनुभन्दा नेपालमा कलेजो प्रत्यारोपण गर्दा धेरै सस्तो पर्ने उहाँको भनाइ छ । 

सरकारले मिर्गौला, क्यान्सरलगायतका उपचारमा सहयोग गरिरहेको छ तर कलेजोको उपचारमा हालसम्म सरकारले सहयोग गर्न सकेको छैन । कलेजो प्रत्यारोपणमा सरकारले सहयोग गर्ने हो भने बिरामीका लागि धेरै राहत हुने थियो । 


नाबालकको कलेजो प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाबालकको समेत कलेजो प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपण सर्जन डा. श्रेष्ठको नेतृत्वमा पर्साको वीरगन्जका तीन वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको  थियो । नाबालककी ३० वर्षीय आमाले कलेजो दान दिनुभएको थियो । कुनै समय चार दिनसम्म निरन्तर कलेजो प्रत्यारोपण भएको सो केन्द्रमा अब १६ महिनाका नाबालकको कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । 

प्रत्यारोपणका लागि जनशक्ति

कलेजो प्रत्यारोपणका लागि ठुलो जनशक्ति आवश्यक पर्छ । त्रिवि शिक्षण अस्पतालमा समेत टिममा छ जना फ्याकल्टी र सात जना एमसिएच गरी १३ जना सर्जन मात्र छन् । त्यसपछि एनेस्थेसियाका छ जना, आइसियुमा छ जना कन्सल्टेन्ट, रेडियोलोजीका चिकित्सक पाँच जनालगायत सबै जनशक्ति ५० देखि ६० जनासम्म कलेजो प्रत्यारोपणमा लागेका हुन्छन् । केही जनशक्ति शल्यक्रिया, केही पोस्टअप, केही आइसियुमा हुन्छन् । कलेजोको प्रिपेयर (तयारी) गर्दा दुई हप्ताजति लाग्छ । सामान्य अवस्था हुँदा लिने व्यक्तिलाई हप्ता दिन आइसियुमा राखेर अर्को दुई हप्ताभित्र डिस्चार्ज गर्ने गरिन्छ । 

‘ब्रेन डेथ’ बाट प्रत्यारोपण न्यून

नेपालमा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) सम्बन्धी कानुन आइसकेपछि ‘ब्रेन डेथ’ बाट कलेजो र मिर्गौलाको प्रत्यारोपण दिनहुँ हुनुपर्ने हो तर विडम्बना ! नेपालमा ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट प्रत्यारोपण हुनै सकेको छैन । कानुन पूर्णतया लागु भए पनि कार्यान्वयन हुन सकेको छैन । कानुन अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण गर्न सकिन्छ । सडक दुर्घटनाबाट नेपालमा वार्षिक दुई हजार जनाको मृत्यु हुन्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्रत्यारोपण गर्ने हो भने नेपालले अङ्ग प्रत्यारोपणमा ठुलो फड्को मार्न सक्छ । हालसम्म नेपालमा मस्तिष्क मृत्युबाट १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ । नेपालमा वार्षिक दुई हजार जनाको ‘ब्रेन डेथ’ हुने गरेको अनुमान  छ । त्यस अनुसार अङ्ग प्रत्यारोपण भने हुन सकेको छैन । मस्तिष्क मृत्युबाट हुने अङ्ग प्रत्यारोपण बढाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । नेपालमा वर्षमा तीन हजार जनाको मिर्गौला र एक हजार जनाको कलेजो काम नलाग्ने गरेको तथ्याङ्क छ । 

प्रत्यारोपणपछि जीवनभर औषधी 

कलेजो प्रत्यारोपण गरेर मात्र पुग्दैन । कलेजो प्रत्यारोपणपछि मासिक २५ हजार रुपियाँ बराबरको औषधी नियमित सेवन गर्नु पर्छ । अब नेपाल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भइसकेको छ तर नेपालीले २० देखि ३५ लाख रुपियाँसम्म खर्चेर कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्था छैन । सरकारले १० देखि १५ लाख रुपियाँ सहयोग गरे अरू रकम बिरामीले बेहोर्न सक्ने स्थिति रहन्छ । आर्थिक रूपमा कलेजो प्रत्यारोपण गराउन सक्ने क्षमता धेरै नेपालीमा छैन । प्रत्यारोपणपछि परिवारको सहयोग पनि त्यत्तिकै महत्वपूर्ण छ । जीवनभर औषधी खाइरहनु पर्छ । सँगै बसेर परिवारले हेरचाह गरेनन् भने बिरामीको अवस्था राम्रो हुँदैन । 

नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । त्यसमा पनि कलेजो प्रत्यारोपण त केही वर्षअघिदेखि मात्र सुरु भएको हो । अत्यन्तै जटिल र महँगो उपचार मानिने कलेजो प्रत्यारोपणको सुरुवात सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट भएको हो ।

मद्यपानले गर्दा कलेजो फेल  

धेरैजसो कलेजो फेलको कारण मद्यपान हो । मद्यपान सेवनले गर्दा कलेजो फेल हुन्छ । त्यसबाहेक हेपाटाइटिस बी, सी पनि कारण हुन् । बोसो बढेर पनि कलेजो खराब हुन्छ । डायबिटिज, प्रेसर जस्ता समस्याले पनि कलेजोलाई हानि पुर्‍याउँछ । कहिलेकाहीँ थाहै नपाईकन कलेजो बिग्रिएको हुन्छ । कुनै रोग जन्मजात पनि हुन्छ । ‘अटोइम्युन’ (आफ्नो शरीरले आफैँलाई हानि गर्ने) समस्याले पनि कलेजोको रोग लाग्न सक्छ । हामीकहाँ ९५ प्रतिशत कारण भनेको रक्सी सेवन नै हो । बच्चामा भने जन्मजात कलेजो फेल हुन सक्छ । नेपालमा वार्षिक ५० देखि ६० जनाको कलेजो प्रत्यारोपण गर्ने हो भने अहिलेका लागि धान्न सकिन्छ । त्यसका लागि ठुलो मेहनत चाहिन्छ । अहिलेकै जनशक्ति र संरचनाले पुग्दैन । 

कलेजो बिग्रिएको कसरी थाहा पाउने ?

कतिपय बिरामीको कलेजो बिग्रिसकेपछि पनि नदेखिन सक्छ । लक्षण देखिन थालेपछि कलेजो नराम्रोसँग बिग्रिएको पनि हुन्छ । कलेजो के कारणले बिग्रिन्छ भन्ने थाहा पाउनु पर्छ ।  कहिलेकाहीँ कलेजो पूरै बिग्रिसकेपछि मानिसहरू अस्पताल आउने गर्छन् । त्यस्तो बेला उपचार सम्भव हुँदैन । बारम्बार सङ्क्रमण हुने, कमजोरी हुने जस्ता समस्या देखा पर्छन् । कलेजोको अवस्था रगत परीक्षण र भिडियो एक्सरेबाट पनि थाहा पाउन सकिन्छ । साधारण रूपमा रगतको परीक्षणबाट थाहा पाउन सकिन्छ । ‘लिभर फङ्सन टेस्ट’ ले कलेजोको अवस्था कस्तो छ भनेर बुझ्न सकिन्छ । सुरुवातमा गर्ने भनेको अल्ट्रासाउन्ड नै हो । धेरैजसोको नियमित रूपमा रक्सी पिउँदा कलेजो फेल भएको हुन्छ । व्यक्तिको शरीरलाई रक्सीले कति असर गर्छ भन्न गाह्रो हुन्छ । कोही भने टन्न खाँदा पनि जीवनभर बाँचिरहेकै हुन्छन् ।  


‘कुनै दिन सफल भइन्छ भन्ने थियो’ 


प्राडा रमेशसिंह भण्डारी

कलेजो प्रत्यारोपण सर्जन

त्रिवि शिक्षण अस्पताल 

मैले धरानबाट एमबिबिएस गरेको थिएँ । त्यसलगत्तै मेडिकल अफिसरका रूपमा काठमाडौँ मेडिकल कलेजमा काम गरेपछि पुनः धरानमा दुई वर्ष काम गरेँ । सन् २००३ मा जनरल सर्जरी अध्ययन गर्न त्रिवि शिक्षण अस्पताल आएँ । मेरो इच्छा ‘पेडियाट्रिक’ पढ्ने थियो तर कारणवश सर्जरी विषय छान्नु पर्‍यो । शिक्षण अस्पतालबाटै ‘ग्यास्ट्रो सर्जरी’ मा एमसिएच गरेँ । काम गर्दागर्दै कलेजो रोगप्रति मेरो रुचि बढ्दै गयो । सन् २००९ तिर कलेजोको शल्यक्रिया गर्न सकिए सबैभन्दा ठुलो कुरा हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि विदेशमा यस्ता तालिमहरूको खोजीमा लागेँ । 

भाग्यवश सन् २०१०/११ मा अस्ट्रेलियामा एक वर्षका लागि कलेजोको शल्यक्रियासम्बन्धी तालिम गर्ने अवसर जुर्‍यो । तालिम सकेर सन् २०११ मा स्वदेश फर्किएँ । त्यसपछि कलेजो प्रत्यारोपण हुन्छ, हुँदैन भनेर अध्ययन गर्नतिर लागेँ । नेपालमा कलेजो प्रत्यारोपण गर्नु पर्छ भन्ने लाग्थ्यो किनकि यहाँ बिरामी धेरै थिए । कलेजोका धेरैजसो बिरामी भारततिर गएर उपचार गराउँथे । 

सन् २०१४ मा अस्ट्रेलियामा कलेजो प्रत्यारोपण हुने अस्ट्रिन हस्पिटल मेलबर्नमा जाने अवसर प्राप्त भयो । त्यहाँ विशेष गरी कलेजो प्रत्यारोपणको तालिम लिन गएँ । त्यो भिक्टोरिया स्टेटको एक मात्र प्रत्यारोपण केन्द्र हो । सन् २०१४ को जनवरीमा गएर एक वर्षको तालिम लिई फर्किएँ । फर्केर आइसकेपछि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गर्नु पर्छ भन्ने लाग्यो । कलेजो प्रत्यारोपणको कुरा गर्दा धेरै जनाले पत्याउनुभएन । कतिपयले ‘डिस्करेज’ पनि गरे । यो कहाँ नेपालमा सम्भव हुन्छ र ? भन्थे । पैसाको हिसाबले पनि यो धेरै ठुलो कुरा हो, सम्भव छैन भनिन्थ्यो । मलाई भने कुनै दिन सफल भइन्छ भन्ने मनमा थियो । 

कलेजो प्रत्यारोपण गर्न सकिएन भने पनि जसले सुरु गर्छ, त्यसलाई सुरुदेखि सिक्न नपरोस् भन्ने सोच थियो । त्यही अनुसार मैले योजना बनाउन थालेँ । म मात्र तालिमप्राप्त थिएँ । अन्य जनशक्ति पनि तालिमप्राप्त हुनु पथ्र्यो । फिजिसियन, एनेस्थेसिया, रेडियोलोजिस्टलगायतका तालिमप्राप्त जनशक्ति आवश्यक थियो । धेरै साथीभाइ कलेजो प्रत्यारोपण गर्ने हुटहुटी देखेर आउनुभयो । साथीहरूका लागि पनि विदेशमा तालिम मिलाउनेतर्फ लागियो । कोही अस्ट्रेलिया जानुभयो त कोही अमेरिका । धेरै जना भारत जानुभयो । कोही एक वर्षसम्मका लागि जानुभयो । विषय हेरेर एक महिनादेखि एक वर्षसम्मको तालिममा साथीहरू जानुभएको थियो । छोटो समयका लागि नर्सलाई पनि तालिममा पठाइयो । त्यो दुईतीन वर्ष पनि तालिममै बित्यो । नर्सिङ स्टाफहरूलाई पनि तालिमका लागि विदेश पठाइयो ।

सन् २०१८ सम्म तीन वर्ष टिम बनाउनेतिर लागियो । शिक्षण अस्पतालमा अरू उपचार भइहाल्थ्यो तर कलेजो प्रत्यारोपणका लागि १२/१५ करोड रुपियाँ आवश्यक थियो । त्यसका लागि ‘सेक्रेट सिस्टम’ चाहिन्थ्यो । जनशक्ति भयो तर सुरु गर्न आवश्यक सामग्री थिएन । सर्जिकल र एनेस्थेसियाका लागि महँगा सामान चाहिन्थ्यो । त्यसका लागि छुट्टै आइसियु चाहिन्थ्यो । यसबारे अस्पताल निर्देशकदेखि सबैसँग कुरा गरेँ । सबैले सहयोग गर्नुभयो तर १५ करोड रुपियाँ एकै चोटि सहयोग पाउन सम्भव थिएन ।

सन् २०१६ को अन्त्यतिर गगन थापा स्वास्थ्यमन्त्री हुनुभयो । उहाँलाई सबै कुरा सुनाएपछि आर्थिक व्यवस्थापन गर्नुभयो । उहाँले १५ करोड रुपियाँ बजेटको व्यवस्था गरिदिनुभयो । त्यसपछि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सम्भव भएको हो । 


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।