• १४ वैशाख २०८१, शुक्रबार

रातो मछिन्द्रनाथको जात्रा सुरु

blog

ललितपुरको जावलाखेलमा पुर्याइएको रातो मछिन्द्रनाथको रथ । रथ तान्न सहभागी भएका स्थानीय र भक्तजन । तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख २१ गते। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ।  मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो। 

के छ किंवदन्ती ?

रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ। भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ।

जात्रा मनाउने चलन कसरी रहन गयो भन्ने विषयमा विभिन्न आधार जोडिएको संस्कृतविद हरिराम जोशी बताउनुहुन्छ। उहाँका अनुसार मच्छिन्द्रनाथको जात्रा हजार वर्ष पुरानो हो। जात्राको पहिलो चरणमा रथ जात्रा गरिन्छ र अन्तिम दिनमा भोटो जात्रा देखाइन्छ। 

नेपाल उपत्यकामा लामो समयसम्म पानीको हाहाकार भयो। पानी नपरेको कारण उब्जनी भएन, भोकमरी सुरु हुँदैगयो। यसको कारण पत्ता लगाउन भक्तपुरका राजा नरेन्द्रदेवले आफ्ना गुरुसँग सुझाव माग्न पुगे। गुरुले गोरखनाथले नागको आशन बनाई मृगस्थलीमा बसिरहेका छन् भन्ने पत्ता लगाए। नागहरू स्वतन्त्र नभएको कारणले पानी नपरेको हो र उनीहरुलाई स्वतन्त्र गर्न गुरुले सुझाव दिनुभयो। 

गोरखनाथलाई नागको आशनबाट उठाएमा मात्र वर्षा हुने पनि उहाँले बताउनुभयो। नागलाई जलको प्रतिक मानिन्छ। गोरखनाथका गुरु मछिन्द्रनाथ हुन्। उहाँलाई नेपाल ल्याउन सकियो र गुरुको दर्शन गरेपछि पानी पर्छ भन्ने सुझाव भएअनुसार मच्छिन्द्रनाथलाई भारतको ‘कामरुप’ अहिले (आसाम) बाट नेपालमा ल्याएको हो। 


राजा नरेन्द्रदेव,  काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजु (बज्राचार्य), यःल अर्थात् ललितपुरका ललित ज्यापु भारतको आसाम, गई तान्त्रिकले मन्त्र गरेर मच्छिन्द्रनाथलाई भमरा बनाई अष्टमंगल कलशमा हाली रातो मच्छिन्द्रनाथलाई नेपालमा ल्याएका थिए। आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपछि नवनागलाई आशन बसेका गोरखनाथ गुरुको दर्शनका लागि उठेर जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ। नेपाल ल्याउने क्रममा राक्षस कुलमा जन्मेका सय जनामध्ये सबैभन्दा कान्छो मच्छिन्द्रनाथलाई नेपाल ल्याउन आमाले बाधा अवरोध गरी आफ्नो केश फिजाई बाटो रोकी राखेकोमा तान्त्रिकले मन्त्र गरेपछि मच्छिन्द्रनाथले विस्तारै केश हटाई निस्कने क्रममा एउटा केश पाउले छोएकोले मच्छिन्द्रनाथको पाउमा चोट लागेको भन्दै आजसम्म पाउमा चाँदीको बट्टाले छोप्ने गरेको पाइन्छ। यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथमा मात्र राखी यात्रा गर्ने परम्परा छ।

नेपालमा ल्याइसकेपछि आफ्नो गुरु अर्थात् मछिन्द्रनाथ आउने खबर पाएर गोरखनाथ आफ्नो आशनबाट उठे। त्यपछि नागहरू स्वतन्त्र भए। त्यसपछि उपत्यकामा वर्षा भयो। त्यसको खुसीयाली स्वरूप रथयात्रा सुरु भएको हो। जोशीका अनुसार पहिले यो जात्रा शरद ऋतुमा गरिन्थ्यो। तर, १४ औं शताब्दीका राजा जयस्थिति मल्लले यो जात्रालाई वसन्त ऋतुमा चलाउने परम्परा बनाएका हुन्। 

जातका आधारमा काम

जात्रामा जात र सम्प्रदायको आधारमा कामको विभाजन गरिएको पाइन्छ। यसरी जात्रा सुरु हुनुअघि मच्छिन्द्रनाथको महास्नानपछि बाराही र वाःले रथ निर्माणको काम सुरु गर्ने गर्छन्। यसरी रथ जात्रा सञ्चालनका लागि धेरै समूह र गुठीहरु संलग्न भए पनि रथ निर्माणका लागि भने बाराहीले मात्र काम गर्ने निर्माणका सहायक नायिके प्रेम महर्जनले जानकारी दिनुभयो।  यसरी बाराहीले काठ सम्बन्धी काम गर्ने, यङ्वालहरुले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिएका हुन्छन्। 


रथमा रहेका अधिकांश काठको काम बाराहीले गर्छन्। यस वर्ष रथमा रहेको ‘धःमा’ (रथको अगाडिको भागको भैरव भएको लामो काठ) पनि नयाँ राखिएको छ। रथ तान्ने पहिलो दिन गुरुहरुले पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन रहेको जोशी बताउनुहुन्छ। रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ। त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल लगिन्छ। 

यसरी रथ दमकल चोकबाट गाभाहल लाने चलन रहेको छ। गाभाहलबाट सुन्धारा, सुन्धाराबाट लगनखेल र जाउलाखेल जान्छ। लगनखेलमा रथको माथिबाट नरिवल गुडाउने चलन रहेको छ। त्यो नरिवल जसले समात्न सक्छ, उसले छोरो पाउँछ भन्ने जनविश्वास रहेको संस्कृतविद जोशी बताउनुहुन्छ। 

मच्छिन्द्रनाथलाई सबै धर्मका मानिसले समान रूपमा एउटै परब्रह्माको रूपमा मानिने जोशीको भनाइ छ। नेपालमा रातो मच्छिन्द्रनाथबाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मच्छिन्द्रनाथका मूर्ति र मन्दिर पनि छन्। त्यसअन्तर्गत काठमाडौं र नालाको सेतो मच्छिन्द्रनाथ हुन्।

 त्यस्तै रातो मच्छिन्द्रनाथमा पाटन, दोलखा र कीर्तिपुर चोभारको मच्छिन्द्रनाथ पर्ने जोशी बताउनुहुन्छ। पाटन, दोलखा र काठमाडौंका मच्छिन्द्रनाथलाई परम्परागत रूपमा रथमा विराजमान गराई सहर परिक्रमा गराउने गरिन्छ। नालाको करुणामय रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान रहेको जोशीको भनाइ छ। चोभारको भने रथ जात्रा गर्ने प्रचलन छैन। उहाँका अनुसार यसरी पाटनको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको हो।