• १२ साउन २०८१, शनिबार

शिक्षण अस्पतालमा कारुणिक दृश्य

blog

जहाज दुर्घटनामा परिवारका सदस्य गुमाएका आफन्त । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेपछि अस्पताल परिसरमा आफन्तको भिड लागेको थियो । तस्बिर : अशोक अधिकारी

काठमाडौँ, साउन १० गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको शवगृह परिसर त्यसै पनि सधैँ नै सन्नाटापूर्ण रहन्छ । त्यहाँको बुधबारको दृश्य अरू भयावह र कारुणिक रह्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलायन्सको विमानमा सवार कर्मचारी, प्राविधिकका शव ल्याउन नपाउँदै परिवारजन र आफन्त त्यहाँ पुगिसकेका थिए । ठुलो भिड भेला भइसकेको थियो । सौर्य एयरलायन्सका सहचालक (कोपाइलट) सुशान्त कटुवाल उमेरले तीन दशक मात्रै पुग्दै हुनुहुन्थ्यो । विराटनगर घर भई भक्तपुरको राधेराधे बस्ने सहचालक कटुवालका बुवा ओम कटुवाल एक्लो छोरा विमान दुर्घटनामा परेको सुन्नेबित्तिकै विमानस्थल पुग्नुभएको थियो । 

ज्यान गुमाउनेको शव शिक्षण अस्पतालमा लगेपछि उहाँ पनि पछि पछि त्यहाँ पुग्नुभयो । शवगृह बाहिर थुचुक्क बस्नुभएका उहाँका आँखा रसाइरहेका थिए । समवेदना व्यक्त गर्न आफन्त आउँथे । बोल्न नसकी फर्किन्थे । आफूलाई सम्हाल्दै एक घुट्की पानी घुटुक्क पारेर उहाँ त्यहाँबाट स्तब्धभावमा निस्किनुभयो । 

छिमेकी ज्ञानबहादुर खड्काका अनुसार सहचालक कटुवालले फ्रान्सबाट पाइलट अध्ययन पूरा गरी फर्किनुभएको हो । उहाँ ३१ तारिख जर्मनी जाँदै हुनुहुन्थ्यो । विमानसम्बन्धी विशिष्ट तालिमका लागि जाने तयारीमा रहेका कटुवालको भिसा प्रव्रिmया पूरा भएको थियो । खड्काले भन्नुभयो, “उडानमा जाने इच्छा पनि थिएन सहचालकको । नाम परेछ, जानुभयो । असल व्यवहारले चिनिने उहाँ यस्तो खबरले हामी सबै मर्माहित छौँ ।” 

आँखाबाट बग्यो भेल

त्यही भिडमा काठमाडौँ बानेश्वरकी कल्याण सौरे आले आफ्ना दुई छोरालाई अँगालो हालेर डाको छाडेर रुँदै हुनुहुन्थ्यो । बेला बेला अचेत हुँदा आफन्त र छिमेकीले पानी खुवाउँथे । सौर्य एयरलायन्सका प्राविधिक कर्मचारी नवराज आलेकी पत्नी कल्याणको पीडादायी विलौनाले शवगृह परिसरमा रहेका सबैका आँखा रसाए । उहाँ र छोराका आँखाबाट भेल नै बगेका थिए । 

छोराले भावविह्वल हुँदै दिएको जानकारी अनुसार धादिङका स्थायी बासिन्दा आलेले सौर्य एयरलायन्समा काम गर्न थालेको छ वर्षभन्दा बढी भएको थियो । त्यसअघि पनि उहाँले अरू विमान कम्पनीमा काम गर्नुभएको थियो । ११–१२ वर्षको उमेरमा धादिङबाट काठमाडौँ आएर अध्ययन पूरा गरी विमान कम्पनीमा काम सुरु गरेका आले बिहान मात्रै ‘पत्नी र छोरालाई चाँडै भेटौँला’ भनेर पोखरा जान निस्किनुभएको थियो । तर उहाँ परिवारका तिनै सदस्यलाई छोडेर बिदा हुनुभयो । 

एकै परिवारका तीनको मृत्यु

सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको निधन भएको छ । विमानका प्राविधिक कर्मचारी एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाका ज्वाइँ मनुराज शर्मा, छोरी प्रिजा खतिवडा र चार वर्षका छोरा अधिराज शर्माको निधन भएको हो । शर्मा दम्पती नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का प्रचार विभाग सचिव प्रकाश खतिवडाकी जेठी छोरी र ज्वाइँ हुनुहुन्छ । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । 


यो पनि पढ्नुहोस

शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड