• २ असार २०८१, आइतबार

धर्मश्रीलाई काठमाडौँ महानगरको साथ

blog

धर्मश्री शारीरिक सुगठन प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : राखेप

काठमाडौँ, वैशाख १९ गते । नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीकालागि काठमाडौँ महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । वैशाख २३ र २४ गते प्रज्ञाभवन कमलादीमा हुन लागेको धर्मश्रीको लागि महानगरले आर्थिक सहयोग प्रायोजन गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । 

शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो । यस संस्करण देखि धर्मश्रीसँगै प्रथम पुरुष तथा महिला फिजिक्स खुला स्पर्धा पनि समावेश गरिएको छ ।

प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियो्गिातमा देशभरका चार सय खेलाडीले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दा माथि केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् ।

यो पुरस्कार राशी अघिल्लो संस्करणको भन्दा दोब्बर भएको पनि अध्यक्ष प्रधानले बताउनुभयो । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र तासौँ हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्सतर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।