• ४ जेठ २०८१, शुक्रबार

आचारसंहितामा के छ ?

चुनावी चहलपहल : राजनीतिक दल मतदाताको घरदैलोमा

blog

चुनावी घरदैलो कार्यक्रममा सहभागी गठबन्धनको तर्फबाट काठमाडौं महानगरको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहलगायत ।

काठमाडौं, वैशाख १८ गते। निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन्। निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन्। त्यहीक्रममा राजनीतिक दलले घरदैलो कार्यक्रम गरेका हुन्।  

काठमाडौं महानगरपालिका प्रमुख पदमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह प्रचारप्रसार तथा घरदैलो अभियानमामा व्यस्त हुनुहुन्छ। उहाँले आइतबार वडा नं. १ र वडा नं. १० का सबै स्थानीयबीच घरदैलो कार्यक्रम गर्नुभएको छ। यसैगरी, उहाँको वैशाख सोमबार वडा नम्म्बर १६, १९, २० र २४ का स्थानीयबासीबीच घरदैलो कार्यक्रम गर्ने तालिका रहेको छ।



पार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित काठमाडौं महानगरपालिकाको सबै वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा व्यवस्त रहने सिंहको कार्यतालिका छ। गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिमा उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ पनि सँगसँगै चुनावी घरदैलो कार्यक्रममा जुट्नुभएको छ। 

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार केशव स्थापितले पनि चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र पार्नुभएको छ। महानगरका विभिन्न वडाका स्थानीयबासी, पार्टीका नेता तथा कार्यकर्तासँग उहाँ शनिबारदेखि नै भेटघाटमा व्यस्त हुनुहुन्छ। चुनावी सामग्री र प्रतिबद्धतासहित उहाँले सोमबारसम्म वडा नं. २, ४ र ५ का स्थानीयबासी तथा पार्टीका नेता, कार्यकर्तासँग भेटघाट गर्नुहुनेछ। उहाँसँगै उपप्रमुख पदकी उम्मेदवार सुनिता डंगोलसमेत चुनाव प्रचारप्रसारमा सक्रिय हुनुहुन्छ। 

काठमाडौं महानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रमुख, उपप्रमुख पदका उम्मेदवार मदनदास श्रेष्ठ र बिनिता मगैया पनि चुनावी प्रचारप्रसारमा हुनुहुन्छ। यस्तै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी चुनावी प्रचारप्रसार, आमसभा एवम् नागरिकको घरदैलो कार्यक्रममा सक्रिय छन्। 

निर्वाचन आयोगले चुनावी प्रसार प्रशारमा निर्वाचन आचारसंहिता पालना हुनुपर्नेमा जोड दिएको  छ। प्रचारप्रशारमा रहेका राजनीतिक दलले निर्वाचन आयोगको आचारसंहिताप्रति पनि उत्तिकै गम्भिर हुन आवश्यक देखिएको छ। 

आचारसंहितामा के छ  ?

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीको ८० प्रतिशत काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले केन्द्रमा आयोगको लगभग ८० प्रतिशत काम सकिएको बताउनुभयो। जिल्ला–जिल्लामा भने निर्वाचन तयारीको काम युद्धस्तरमा अघि बढिरहेको उहाँको भनाइ छ। घरदैलो अभियानमा जुटेका बेला आचारसंहिताको विशेष ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ। 

आमसभा, बैठक गर्नुअघि राजनीतिक दलले कम्तिमा ७२ घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, मार्ग र स्थानको बारेमा जानकारी गराउनुपर्ने प्रावधान छ।

निर्वाचन प्रयोजनको लागि ७५ ग्रामसम्मको कागजमा तीन वर्ग इन्चसम्म आकारको एउटै रंग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। 

यसैगरी, उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचारप्रशार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदान गर्न नहुने व्यवस्था आचारसंहितमा रहेको छ। 

आयोगले स्थानीय निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेको छ। स्थानीय तह निर्वाचनमा कूल ७९ दलले भाग लिन आयोगमा दर्ता गराएका थिए। जसमध्ये छ वटा राष्ट्रिय मान्यता प्राप्त दल, २३ वटा अघिल्लो निर्वाचनमा भाग लिएका राजनीतिक दल छन्। त्यस्तै, ४० वटा राजनीतिक दलले यस पटकको निर्वाचनमा भाग लिन दर्ता भएको आयोगले जनाएको छ। 

आयोगका अनुसार दर्ता भएकामध्ये वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी नेपाल, नौलो जनवादी पार्टी, समावेशी लोकतान्त्रिक पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, लोकदल, नेपालवाद र राष्ट्रिय विकास पार्टीले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।