खेमराज सापकोटा
रानी (मोरङ), कात्तिक २१ गते । कोशी प्रदेश सरकारले लामो समयदेखि निष्व्रिmय जस्तै बनेको शैलजा आचार्य हृदयरोग केन्द्रलाई अब व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । गत आइतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले ‘शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्र सञ्चालन कार्यविधि, २०८२’ पारित गर्दै त्यसको कार्यान्वयन अघि बढाउने निर्णय गरेको हो ।
यो अस्पताल २०८० माघ ८ गते तत्कालीन मुख्यमन्त्री केदार कार्कीले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । आवश्यक उपकरण र जनशक्ति अभावका कारण अस्पताल उद्घाटन त भयो तर प्रभावकारी सेवा सञ्चालन हुन सकेको थिएन ।
मुटु उपचारका लागि आउने बिरामी उपचार नपाई सिफारिस भएर अन्य अस्पतालतिर पठाइन्थे । अब कोशी सरकारले प्रादेशिक अस्पतालका रूपमा मान्यता दिएर कार्यविधिका साथ सेवालाई व्यवस्थित बनाउन खोजेको हो । कार्यविधि अनुसार अब यो अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक, कार्डियोलोजी, जनरल सर्जरी, सुरक्षित मातृत्व, प्रसूति तथा स्त्रीरोग, बालरोग, अर्थोपेडिक, साइकियाट्री, मुख तथा दन्त, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी, पोषण, खोप, परिवार योजनालगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने छन् । साथै मन्त्रालयले आवश्यक ठानेका अन्य स्वास्थ्य सेवा पनि व्रmमशः सुरु गरिने कार्यविधिमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेका अनुसार कार्यविधि अनुसारको समिति गठन गरेर अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र बजेटको व्यवस्था मिलाइने छ । उहाँका अनुसार अब प्रशासनिक र प्राविधिक तयारी पूरा भएपछि शैलजा आचार्य हृदयरोग केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ । घिमिरेले भन्नुभयो, “अब हामी सेवा शुल्कसमेत निर्धारण गरेर ओपिडी, आकस्मिकका साथै फार्मेसी सेवासमेत सञ्चालनमा ल्याउने तयारीमा रहेका छौँ ।”