• २१ कात्तिक २०८२, शुक्रबार

नेपाल राष्ट्रसङ्घको भरपर्दो सारथि

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । विश्व शान्ति स्थापनाका लागि नेपालले संयुक्त राष्ट्रसङ्घमा आफूलाई पुरानो र भरपर्दो सहयोगी राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको छ । 

राष्ट्रसङ्घको ८० औँ स्थापना दिवसका सन्दर्भमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पञ्चकालीस्थित वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रमा शान्ति स्थापनार्थ तैनाथ रहँदा वहन गर्ने विविध जिम्मेवारीबारे नमुना अभ्यास प्रस्तुत गरेको छ । सो समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व शान्ति स्थापनामा नेपाल राष्ट्रसङ्घको भरपर्दो र प्रतिबद्ध मुलुक रहेकाले विश्वव्यापी शान्ति तथा सुरक्षा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । 

विश्व शान्ति स्थापना नेपालको परराष्ट्र नीति नै रहेको बताउँदै सेनापति शर्माले द्वन्द्वग्रस्त मुलुकमा दिगो शान्ति स्थापना गरी ती देशका नागरिकको जिउधनको रक्षार्थ नेपाली शान्ति सैनिकले जिम्मेवार र प्रतिबद्ध रूपमा तैनाथ हुने बताउनुभयो ।

उहाँले विश्व शान्ति स्थापनार्थ नेपालले पाएको जिम्मेवारी निर्वाह गर्ने क्रममा नेपाली शान्ति सैनिकले प्राप्त स्रोत, साधन, ज्ञान, अनुभव र प्रविधि अधिकतम उपयोग गरी तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिएको बताउनुभयो । 

नेपाल शान्तिप्रेमी राष्ट्र

राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ तैनाथ रहँदा नेपाली शान्ति सैनिकले प्रस्तुत गरेको व्यावसायिकता, निष्पक्षता र अनुशासनले नेपालको अन्तर्राष्ट्रिय छवि उच्च बनाउन सहयोग पुग्नुका साथै विश्वमाझ नेपाललाई शान्तिप्रेमी राष्ट्र चिनाउन ठुलो योगदान पुगेको छ ।

राष्ट्रसङ्घको आह्वानमा नेपाल सन् १९५८ देखि नै सहभागिता जनाउँदै आएको छ । शान्ति स्थापनार्थ ६७ वर्षको इतिहासमा नेपालले ४१ वटा देशमा ५२ वटा शान्ति मिसनमार्फत तीन हजार चार सयभन्दा बढी महिला शान्ति सैनिकसहित एक लाख ७८ हजार शान्ति सैनिक खटाइसकेको छ । हाल विभिन्न द्वन्द्वग्रस्त १० मुलुकका १३ स्थानमा १६ वटा नेपाली शान्ति सैनिक युनिट शान्ति स्थापनार्थ तैनाथ छन् । ५८० जना महिला शान्ति सैनिकसहित पाँच हजार ८१९ जना शान्ति सैनिक तैनाथ गरी नेपाल शान्ति सेना खटाउने मुलुकमध्ये हाल पहिलो स्थानमा छ ।

नेपालले शान्ति सैनिकमा उल्लेख्य महिला सहभागिता र सौर्य हाइब्रिड प्लान्टमार्फत वातावरण संरक्षणमा पु¥याएको योगदानका कारण लैङ्गिक समानता वातावरण रणनीतिमा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ । शान्ति स्थापनार्थ तैनाथीका क्रममा अपनाइने द्वन्द्व समाधान, सङ्कट व्यवस्थापन, मानवीय सहायता, शान्ति निर्माणबारे नेपालले अमूल्य सिप र ज्ञान प्राप्त गरी देशको आन्तरिक सुरक्षा र विपत् व्यवस्थापन तथा आकस्मिक उद्धारमा विशेष दक्षतासमेत हासिल गर्न सफल भएको छ ।

शान्ति स्थापनार्थ अपनाइने तयारी एवं प्राप्त ज्ञान र सिपबाट समग्र नेपाली सुरक्षा निकायको व्यावसायिकता र तयारीमा निखार ल्याउन सहयोग पुगेको विश्वास गरिएको छ । विश्व शान्ति स्थापनार्थ तैनाथीका क्रममा हालसम्म ८७ जना नेपालीले शान्ति सेनामा वीरगति प्राप्त गर्नुका साथै ८१ जना घाइते तथा अङ्गभङ्ग भएका छन् । गरेको छ ।