• ३ साउन २०८१, बिहिबार

ताप्लेजुङमा घर भत्किँदा बालकसहित छ घाइते

blog

छ जना घाइते हुने गरी आम्बेगुदिनको हप्पुखोलामा भत्किएको घर । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलवार खेतमा काम गरेर खाजा (नास्ता) खान बसेको घर अचानक भत्किँदा एक बालकसहित छ जना घाइते हुनुभएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार ढुङ्गा, माटो र फुस (खर) को छाना भएको दुई तले घर भत्किँदा घाइते हुनेमा स्थानीय ४३ वर्षीय खड्गबहादुर बानियाँ र उहाँकी श्रीमती ३८ वर्षीया जानुका बानियाँ रहनुभएको छ । यस्तै स्थानीय ३० वर्षीया सुविना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विक र १० वर्षीय रोहित विक घाइते हुनुभएको प्रनाउ रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार घाइतेमध्ये खेमराज अधिकारीको अवस्था गम्भीर छ । अधिकारीको दायाँ खुट्टा भाँचिएको उहाँलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न झापातर्फ लगिएको पनि उहाँले जानकारी दिनुभयो । बाँकी घाइते पाँच जनाको पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।