• २० असोज २०८१, आइतबार

बाढीपहिरोको वितण्डा

दुई दिनमा पन्ध्र जनाको मृत्यु

blog

काठमाडौँ, असार २४ गते । अविरल वर्षाका कारण देशको पूर्वदेखि सुदूरपश्चिम भेगसम्म बाढीपहिरो र डुबानले जनजीवन अत्यधिक प्रभावित बनेको छ । लगातारको वर्षाले मध्यपहाडी भेगमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ । त्यस्तै वर्षापछिको बाढीले पनि मानिसको ज्यान लिएको छ । 

बाढीपहिरोमा परी आइतबार थप छ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै शनिबार र आइतबार गरेर १५ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढीपहिरोमा परेर थप दुई जना अझै बेपत्ता छन् । अन्य १८ जना घाइते भएका छन् । दुई दिनमा पहिराले मात्र नौ जनाको ज्यान लिएको छ । अन्य छ जना बाढीले बगाएर ज्यान गएको कार्कीले बताउनुभयो । 

दुई दिनको विपत्मा भएको जिउधनको क्षति जोड्दा मनसुन अवधिमा ज्यान जानेको सङ्ख्या ७३ पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बाढीपहिरोले मात्र ४३ जना र चट्याङले १९ जनाको ज्यान लिएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । अन्य सर्पदंश, जनावर आव्रmमण र आगलागीले ज्यान लिएको तथ्याङ्कसमेत गरी ७३ पुगेको हो । 

यस अवधिमा अन्य १३५ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् । यस अवधिमा अनुमानित २३ करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भइसकेको छ । एक हजार ४४८ घरपरिवार प्रत्यक्ष प्रभावित बन्न पुगेका छन् ।

तीन वटै सुरक्षा निकाय उद्धारमा 

वर्षा निरन्तर रहेकाले उद्धार र राहतमा कठिनाइ भए पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीले बाढीपहिरो र डुबानमा परेका आमनागरिकलाई सुरक्षित स्थानमा सार्न दिनरात नभनी काम गरिरहेको छ । 

बाढीपहिरोले कोशीदेखि सुदूरपश्चिमसम्म सबै प्रदेशकै जनजीवन सकसमा पारेकाले सहज बनाउन नेपाली सेना अहोरात्र खटिएको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमजन्य कठिनाइ भए पनि  स्थानीय सकारसँगको समन्वयमा उद्धारसँगै बाटो मर्मतसम्भार, तटबन्ध मर्मत, डुबान कटान खुलाउने काममा सैन्य टोली देशव्यापी रूपमा परिचालन गरिएको छ । आपत्मा परेकालाई सेनाको हेलिकोप्टरमार्फत ताप्लेजुङ र कालीकोटमा उद्धार गरिएको जानकारी उहाँले दिनुभयो । 

नेपाल प्रहरीका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो, “पर्वत, स्याङ्जा, गुल्मी, दोलखा, ओखलढुङ्गामा पहिरो गएको छ, बढीजसो गण्डकी प्रदेशमा पहिरो गएको देखिएको छ ।” ज्यान जोखिममा राखेर सुरक्षा निकायले काम गरिरहेको छ । त्यस्तै अब्बल गोताखोर रहेको सशस्त्र प्रहरीको टोली बाढी र डुबान क्षेत्रमा बढी खटिएको छ ।  दाङ, नवलपरासी, चितवन, काठमाडौँलगायतका स्थानमा डुबान र बाढीमा परेकालाई उद्धार गर्न सशस्त्र प्रहरी खटिएको जनाएको छ । 

ठुलासाना नदीको बहाव उच्च हुँदा तराईका बस्ती डुबानमा परेका छन् । कैयौँ आफ्नो थातथलो छाडेर अन्यत्र विस्थापित हुन पुगेका छन् । राहत तथा उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले एकीकृत रूपमा काम गरिरहेको जानकारी प्राधिकरणका प्रमुख अनिल पोखरेलले दिनुभयो ।

लगातारको वर्षाले पहाड तथा तराई सबैतिरको जमिन गलेको हुनाले सहजै बाढीपहिरो जाने व्रmम जारी रहेकाले अझै जनधनको क्षतिको जोखिम बढेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

देशका विभिन्न स्थानका अधिकांश सडकमार्ग पहिरोका कारण अवरुद्ध बनेका छन् । केही स्थानका सडक बाढीले बगाएर अवरुद्ध बनेको छ । आइतबार पनि झन्डै ४५ भन्दा बढी स्थानका सडक बाढीपहिराले अवरुद्ध पारेको छ । 

वर्षा कम हुने 

मनसुन न्यूनचापीय रेखा नेपालबाट  दक्षिणतिर सर्दै गएकाले सोमबारदेखि नेपालमा वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र  थोरै स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको महाशाखाले स्पष्ट पारेको छ । मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा कायमै छ ।

वर्षा कम हुने भए पन जमिन भिजिसकेकाले थोरै वर्षाले पनि भूक्षय, पहिरो तथा गेग्य्रान बहावको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । खण्डित वर्षाले खहरेखोलाहरूमा आकस्मिक बहाव रहने र ठुला नदीको जलसतह केही दिन थोरै मत्थर भए पनि सतर्कता आवश्यक रहेको जनाइएको छ ।