• २० असोज २०८१, आइतबार

बिपी राजमार्गको दुःख

दस वर्षमा तीन सय पटक सडक अवरुद्ध

blog

काभ्रेपलाञ्चोक (रोशी), असार २४ गते । नेपालकै नमुना र व्यवस्थित सडक परियोजनाको मानिएको बिपी राजमार्गको मङ्गलटार सडकखण्ड गेग्य्रानसहितको लेदो बाढीको समस्यामा छ । १० वर्षमा एकै ठाउँमा आउने त्यस्तो बाढीले १० वर्षमा तीन सय पटक सडक अवरोध भएको छ तर त्यस्ता अरू ठाउँ पनि छन् ।

हल्का मात्रै वर्षा हुन थालेपछि माथिल्लो भेगबाट आउने लेदो बाढीले सडक अवरुद्ध पार्ने गरेको हो । यस वर्षको पहिलो झरमै परेको पानीले रोशी गाउँपालिकाको पाँच स्थानमा एकै पटक सडक अवरुद्ध बनायो । त्यस्तो बाढीमा फसेपछि निस्कन गाह्रो हुन्छ । २० घण्टा गाडीमै परिवारसहित बस्नुपर्दाको तनाव आफूले भोगेको बनेपाका तेज नेपालीले सुनाउनुभयो । उहाँ जस्ता सयौँ गाडीका हजारौँ यात्रुले त्यस्तै दुःख पाएका छन् ।

१० वर्षसम्म पनि उही समस्या रहनु अरू दुःखद भन्दै उहाँले बाढी आउने समस्याको दीर्घकालीन समाधान खोज्न ढिला नगर्न अनुरोध गर्नुभयो । 

राजमार्ग निर्माणकै व्रmममा भएको प्राविधिक त्रुटिका कारण बर्सेनि यस्ता घटना भइरहन्छन् । वर्षामा मात्रै नभई हिउँदमा पनि बाढी आएर यात्रु अलपत्र पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय मङ्गलटारले बाढीपछि सडक खुलाउन निकै ठुलो जनशक्ति परिचालन गर्नुपर्ने बाध्यता छ । 

शनिबार सबैभन्दा धेरै सवारी रोक्ने भ्याकुरे खोला तर्ने व्रmममा बगाएर दुई जना स्थानीयको मृत्यु भएको थियो । खोलाले बगाउँदा स्थानीय ६५ वर्षीया जलमाया रुचाल मगर र पाँच वर्षीया सेतीमाया रुचाल रहेका छन् । नाताले फुपू र भदै रहेकामा सेतीमाया बिरामी भएर स्वास्थ्य चौकीमा जँचाउन ल्याएपछि घर फर्कने व्रmममा उनीहरूलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।  

बाढीमा १७ घण्टासम्म सडकमै रोकिनुभएको थियो, नमोबुद्ध नगरपालिका भकुन्डेबेँसीका अशोक खनाल । २०७८ असोज १७ गते विराटनगरबाट बेहुली लिएर फर्कंदै गर्दा भ्याकुरे खोलामा आएको बाढीमा १७ घण्टा रोकिनुभएको थियो ।

विवाह भोजका लागि ११ बजे इष्टमित्र, आफन्त बोलाएको तर आफूहरू भने बाढीमा फसेपछि जीवनकै सबैभन्दा ठुलो तनाव खेप्नु परेको थियो । विवाहकै दिन १७ घण्टासम्म चाउचाउ र पानीको भरमा बस्नु पर्दाको तनाव र पीडा गहिरो थियो । सडक विभागले बिपी राजमार्गमा खटाएका साइट इन्चार्ज चन्द्र लामाले भ्याकुरे, फेदी र चिउरीबासमा खोलामा गेग्य्रानसहितको लेदो बाढीले एम्बुलेन्ससमेत रोकिने गरी सडक अवरुद्ध पार्ने गरेको उल्लेख गर्नुभयो । 

तीन वर्षअघि गाडी रोकिएपछि एक महिलाले सडकमै बच्चा जन्माएको घटना पनि छ । एक वर्षमा ३० पटकसम्म लेदो बाढी आएर सवारीसाधन जाममा पर्छन् या पुरिन्छन् । यात्रुको उद्धार सजिलै गर्न सकिन्छ, त्यसैले ज्यान नै भने गएको छैन तर गाडी भने निकाल्न सकिँदैन । दलदलमा फसेका जनावरको जस्तै हालत गाडीको हुन्छ । 

बाढीसँगै आएको गेग्य्रानसहितको लेदोले गाडीका टायर ‘लक’ हुने गर्छन् । त्यसपछि बिस्तारै त्यसको सतह बढ्छ । बिस्तारै ढुङ्गा, माटो र लेदोको मिश्रण ढलान गर्न तयार पारिएको बालुवा, गिट्टी र सिमेन्टको मिश्रण जस्तै भएर गाडी हलचल गर्न सक्दैनन् । असार, साउन र भदौमा दुःख दिने खोलाले कहिलेकाहीँ चैतदेखि नै दुःख दिने गरेको स्थानीय बासिन्दा बताउँछन् । उनीहरूका अनुसार पहिला त्यस्तो थिएन । घर घरसम्म पुग्ने बाटो खन्न थालेपछि माथिल्लो भागबाट गेग्य्रानसहितको लेदो बाढी आउने गरेको छ । 

सबैभन्दा धेरै बाटो अवरोध भने २०७८ चैत ३० गतेको बाढीले तीन दिनसम्म सडक रोकिएको थियो भने दर्जनौँ सवारीसाधन पुरिएका थिए । त्यसबेला गाउँपालिकाले यात्रुका लागि खानेपानी र खानेकुराको व्यवस्थापन गरिदिएको थियोे । 

रोशी गाउँपालिकामा पर्ने सो स्थानमा बाढी आएपछि धेरै रात नसुतेर उद्धार कार्यमा खटेको अनुभव गाउँपालिकाका पूर्वअध्यक्ष डिबी लामाको पनि छ । राति सयौँ यात्रु अलपत्र परेको सूचना आउँदा डोजर लिएर उद्धारको कार्यमा खट्ने गरेको बताउँदै उहाँले यात्रुका लागि कम्तीमा पानी र चाउचाउको जोहो गरिदिने गरेको बताउनुभयो । इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा यात्रुलाई सुरक्षित रहेको महसुस गराउन धेरै रात सडकमै बसेको उहाँले बताउनुभयो । 

मङ्गलटार क्षेत्रको समस्या राजमार्ग निर्माणको प्राविधिक भए पनि टोल टोलमा गरिएका डोजरे विकासका कारण यस्ता समस्या हरेक वर्ष बढिरहेको हो । आफू अध्यक्ष हुँदा धेरैजसो माग सडकको आउँदा आफूले पनि त्यसैमा बजेट विनियोजन गरेको तर अहिले त्यही कारणले राजमार्ग नै अवरुद्ध हुने थाहा पाएपछि नराम्रो लागेको उहाँले स्पष्ट पार्नुभयो । 

सडकभन्दा माथिल्लो भागमा अन्धाधुन्ध प्रयोग भएको डोजरले माटो खुकुलो बनाएको र त्यसकै असरका रूपमा गेग्य्रानसहितको बाढी आएको बताउनुभयो । यो समस्याको दीर्घकालीन समाधान खोज्न ढिला भएको उहाँले उल्लेख गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, बनेपाका प्रमुख विकास तामाङले हरेक वर्ष बिपी राजमार्गमा आउने लेदोसहितको बाढीले ट्राफिक व्यवस्थापनमै चुनौती थपेको बताउँदै यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा बाढीका कारणबाट हुने समस्या समाधानका लागि जाइकाका प्रतिनिधि र सडक विभागका प्रतिनिधिले पटक पटक अनुगमन गरे पनि योजना भने बनाइएको छैन । सडक भएको भागमा चुरे क्षेत्रको जस्तो माटो भएकाले सडक खोतल्न नमिल्ने इन्जिनियर नारायण लामिछानेले उल्लेख गर्नुभयो ।

माथिल्लो भागबाट आउने भेलको वैकल्पिक निकासको ठाउँ नभएकाले कसरी समस्या समाधान गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको सडक विभाग अन्तर्गत बनेपा–बर्दीबास सडक आयोजनाका इन्जिनियर लामिछानेले भन्नुभयो । अहिले यो निकै ठुलो समस्या भएकाले जाइकासहितको टोलीले अध्ययन थाले पनि योजना कसरी बढाउनेबारे कार्य भने अघि नबढेको जानकारी दिनुभयो ।