• २१ असार २०८१, शुक्रबार

सावधानी अपनाएमा डिजिटल हिंसा कम

blog

गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरी सञ्चारीका समूह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजित सामाजिक सञ्जालमा महिला पत्रकारमाथि हुने हिंसा र यसको न्यूनीकरण विषयक कार्यशालामा बोल्नुहुँदै । तस्बिर : कविता थापा

काठमाडौँ, असार १९ गते । महिला पत्रकारले सामाजिक सञ्जाल र नयाँ प्रविधिहरूको प्रयोग गर्दा सावधानी अपनाएमा डिजिटल हिंसा कम हुन सक्ने सरोकारवाला निकायका वक्ताहरूले औँल्याउनुभएको छ ।

सञ्चारीका समूह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजित सामाजिक सञ्जालमा महिला पत्रकारमाथि हुने हिंसा र यसको न्यूनीकरण विषयक कार्यशालामा बोल्नुहुँदै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालबाट हुने हिंसा कम गर्न पत्रकार महिलाले अन्य विषयभन्दा समाचारमूलक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्न सकिने औँल्याउनुभएको हो ।

नयाँ प्रविधि र सामाजिक सञ्जालसहितको डिजिटल साक्षरतालाई बढवा दिने खालका क्षमता अभिवृद्धिमूलक प्रशिक्षणको महिला पत्रकारलाई आवश्यकता रहेको पनि बस्नेतले बताउनुभयो ।

सामाजिक सञ्जाल, आर्टिफिसियल इन्टेलीसेन्स र महिला पत्रकार विषयक छुट्टै सत्रमा पत्रकार उज्ज्वल आचार्यले सामाजिक सञ्जालको प्रयोग यसका चुनौती र बच्ने उपायका बारेमा जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल र नयाँ प्रविधि दुई धारे तारबार रहेको जनाउँदै उहाँले यसको सही प्रयोग गर्न सके फाइदा हुने तर नजानेको खण्डमा उच्च जोखिम रहेको प्रस्ट पार्नुभयो ।

सो सत्रको टिप्पणीकारका रूपमा गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले सामाजिक सञ्जालको सकारात्मक पाटोहरूमार्फत पत्रकार र सञ्चारमाध्यमले धेरै फाइदा लिन सक्ने बताउनुभयो ।

यसको प्रयोगको परिणाममा केही जोखिम रहेपनि त्यसलाई समयसँगै सामान्यीकरण गर्दै समाचारमूलक विषयवस्तुलाई क्षणभरमै विश्वभरका दर्शक, स्रोतामाफ पुर्‍याउन सकिने महत्त्वपूर्ण लाभ रहेको उहाँले प्रस्ट पार्नुभयो ।


निर्जला कक्षपतिले सहजीकरण गर्नुभएको सो सत्रमा अर्का टिप्पणीकार अनिता गुरुङले पत्रकार आफू सजग रहेर चलाउँदा कुनै हानी नहुने बताउँदै स्वनियमको अवधारणालाई पालना गरेमा जोखिम कम हुने जानकारी दिनुभयो ।

सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुँदै पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले प्रविधिको तीव्र विकासले निम्त्याएका हिंसालगायतका समस्याको बारेमा पत्रकार महिलालाई थप साक्षर बनाउन सरोकारवाला निकायले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा ७० बढी महिला पत्रकारहरूको सहभागिता रहेको थियो । सरकारी तथ्य अनुसार नेपालमा ३७.८ प्रतिशत घरमा इन्टरनेटको सेवाको पहुँच रहेसँगै त्यसबाट ७३ प्रतिशत जनसङ्ख्याको हातमा रहेको स्मार्ट फोन चल्ने गरेको छ । महिला जनसङ्ख्याको हिस्सा ठुलो रहेजस्तै महिला नै बढी हिंसामा पर्ने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको छ । जस अनुसार सेयर काष्ठ इनिसियटिभ्सको अध्ययन अनुसार ८५ देखि ९० प्रतिशत महिला हिंसा सामाजिक सञ्जालमार्फत हुने गरेको छ ।

त्यस्तै, ८२  प्रतिशत फेसबुक म्यासेन्जरबाट महिला हिंसा हुने गरेको छ । अर्को एक अध्ययन अनुसार १५.५ प्रतिशत एक्सबाट, १२.८ प्रतिशत ह्वाट्स एपबाट, ११.७ प्रतिशत भाइबर, ६ प्रतिशत इमेल र ४.६ प्रतिशत इन्स्टाग्राममा महिला हिंसा हुने गरेको छ ।

महिला जनसङ्ख्याको हिस्सा ठुलो भए पनि डिजिटल साक्षरताको दायरा भने ३१ प्रतिशत मात्र रहेको कार्यक्रममा जानकारी दिइएको थियो । संयुक्त राष्ट्र सङ्घीय महिला (युएन वुमन) का अनुसार विश्वमा ८५ प्रतिशत महिलामाथि डिजिटल हिंसा हुने गरेको छ । जसमध्ये ९५ प्रतिशत मानवीय गल्तीकै कारणले त्यस्ता हिंसा बढेको औँल्याइएको छ ।