• १३ साउन २०८१, आइतबार

मतगणना स्थलमा सीसी क्यामरा अनिवार्य

blog

काठमाडौँ, वैशाख १७ गते  । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गणना स्थलमा अनिवार्य रूपमा सीसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । 

सो प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने/नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताउनुभयो ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदानसमेत भएको थियो । निर्वाचनका लागि कुल १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी यस पटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहाछाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गिन र श्यामश्वेत दुवै रङमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताउनुभयो । मतदाताले हेर्न चाहेमा आयोगको वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । निर्वाचनका लागि कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग शुक्रबार भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगको परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ । 

बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यावसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गर्नुभयो ।आयोगका उपसचिव कमल ज्ञवालीले स्थानीय रूपमै हुन सक्ने व्यवस्थापकीय तयारी त्यहीँ गर्न वा सानातिना समस्याको आफैँ समाधान गर्न आग्रह गर्दै विद्यमान, ऐन, नियम, निर्देशिका, आयोगका निर्णय र परिपत्रको सूक्ष्म अध्ययन गरेर निर्वाचनलाई व्यवस्थापकीय रूपमा सफल तुल्याउन प्रदेश र जिल्लास्तरका अधिकारीको भूमिका हुने अपेक्षा व्यक्त गर्नुभयो ।