• ४ जेठ २०८१, शुक्रबार

१७ खेलाडी थपेर फुटबल टोलीको प्रशिक्षण सुरु

blog

काठमाडौँ, वैशाख १७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुदार ब्यवहार गरेको भन्दै टोलीका सिनियर खेलाडी रोहित चन्द सहित नौ खेलाडीले विद्रोह गर्दै बन्द प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिनुभएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकले १७ जना खेलाडीलाई थपेर प्रशिक्षण सुरु गरेको जनाएको छ । प्रशिक्षकले मानसिक दबाब दिएको भन्दै रोहितसहित सिनियर खेलाडीले मंगलबार राति बन्द प्रशिक्षणको लागि राखिएको होटल छाडेर बाहिरिएका थिए । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले घटनाको विषयमा खेलाडी र प्रशिक्षक सबैसँग छानविन र छलफल गरी मिलाउने प्रयास भईरहेको बताउनुभयो ।

क्याम्पबाट बाहिरिएका खेलाडीले पत्रकार सम्मेलन गरी अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने बताई रहेका छन् । प्रशिक्षकले बन्द प्रशिक्षण्मा थप गरेको नयाँ खेलाडीहरुमा  विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढामगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई हुनुहुन्छ । 

रोहितसँगै सिनियर खेलाडीले विद्रोह गर्दै बन्द प्रशिक्षण क्याम्प छाडेपछि एन्फाका उपाध्यक्ष पंकज नेम्वाङ लगात केही सदस्यहरुले भने घटनाको विषयमा छानविन गर्न तत्काल एन्फा कार्यसमितिको बैठक बोलाउन माग गरेका छन् । नेपाली फुटबल टोली अहिले कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुने एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा ब्यस्त रहेको थियो ।

एसिया कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ । यसअघि प्रशिक्षक अल्मुताइरीले २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गर्नुभएको थियो । एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।