• १० मंसिर २०८१, सोमबार

नेपाल–चीन सम्बन्ध

blog

नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहले मुलुकको अवस्थितिको बारेमा विश्लेषण गर्दै ‘दुई विशाल ढुङ्गाबिचको तरुल’ को संज्ञा दिनुभएको सन्दर्भ दिव्योपदेशमा उल्लेख छ । तीनतिर भारत र उत्तरमा विशाल चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको आकारमा सानो मुलुक भएर पनि इतिहासका अनेक कालखण्डमा भएका लडन्त भिडन्तमा कहिल्यै कसैको अधीनस्थ नभई स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न मुलुक रहेको गौरवपूर्ण इतिहासले विश्वमा नेपाली जातिको उच्च सम्मान कायम छ । यिनै ठुला दुई छिमेकी यतिबेला विश्व अर्थतन्त्रमा प्रभावशाली स्थापित हुनु नेपालका लागि सुखद पक्ष हो । दुवै मित्रष्ट्रद्वारा नेपालको समृद्धि यात्रामा विकास साझेदारको रूपमा विगतदेखि नै हातेमालो हुँदै आएको छ । असल छिमेकीपनको न्यानोमा ‘दुई ढुङ्गाबिचको तरुल’ नभई ‘हिरा’ भई चम्किने अवसरको लाभ लिने गरी कूटनीतिक सम्बन्ध प्रगाढ हुन आवश्यक छ ।

सम्बन्धको यही आयाममा उत्तरी छिमेकी राष्ट्र चीनसँग दौत्य सम्बन्ध स्थापना भएको सात दशक पुग्न लागेको छ । यद्यपि नागरिक तहमा भने पाँचौँ शताब्दीदेखि नै धार्मिक तथा सांस्कृतिक आदानप्रदानको शुभारम्भ भएको थियो । तत्कालीन राजकुमारी भृकुटीको विवाह तिब्बतका राजकुमार स्रङचङगम्पोसँग भएपछि सम्बन्धको अध्याय सुरु भयो । कलाकार अरनिकोले चीनमा पारेको प्रभाव सम्बन्धको अर्को महत्वपूर्ण कडी हो । सरकारी तहमा भने सन् १९५५ मा चीन र नेपालबिच दौत्य सम्बन्ध स्थापना भयो । दुई देशबिचको सम्बन्धलाई सन् १९६० अप्रिल २८ मा दुवै देशका प्रतिनिधिद्वारा हस्ताक्षर गरिएको चीन–नेपाल शान्ति तथा मैत्रीपूर्ण सन्धिले परिभाषित गरेको छ । मित्रतापूर्ण सम्बन्धलाई दुई देशबिचमा भएका उच्चस्तरीय नेतृत्वद्वारा भएका भ्रमणले अझ बलियो बनाउन सहयोग पुगेको अनुभूत हुन्छ । 

दुई देशबिचको सम्बन्ध अभिवृद्धिमा परराष्ट्र मन्त्रालय मातहतमा कूटनीतिक परामर्श संयन्त्र स्थापना हुनुलाई कूटनीतिक क्षेत्रमा निकै महत्वपूर्ण मानिएको छ । यसै संयन्त्रको १६ औँ बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका उपविदेशमन्त्री सुन वेइजोङको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधिमण्डल र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलबिच द्विपक्षीय सम्बन्धका समग्र आयामबारे समीक्षा गरिएको छ । विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा निर्णयहरूको मूल्याङ्कनसमेत भएको छ । आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्धन गर्ने प्रतिबद्धतासहित पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता गरिनु आफैँमा महत्वपूर्ण छ । शान्तिपूर्ण सहअस्तित्व, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको बैठकमा स्पष्ट गरिएर दुवै देशको परराष्ट्र नीतिमा समानता भएको पुनर्पुष्टि गरिएको छ । 

संयन्त्रको बैठकमा चिनियाँ पक्षले सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएर विकासशील राष्ट्रमा सूचीकृत भएपछि विकास सहयोग अभिवृद्धि गर्न अहिले नै प्रतिबद्धता व्यक्त गरेर सहयोगको क्षेत्र विस्तार गरेको छ । सन् २०२५ लाई ‘नेपाल–चीन भ्रमण वर्ष’ मनाउने सन्दर्भमा नेपालको पर्यटन प्रवर्धन, पूर्वाधार विकास, आवागमन, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको छ । दुवै पक्षले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवलाई विशेष मनाउने घोषणाले नागरिक तहमा समेत उत्साह वृद्धि भएको अनुभूत हुन्छ ।

संयन्त्रको बैठकमा चीनका उपविदेशमन्त्रीले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताप्रति सराहना गर्नुभएको छ । द्विपक्षीय सम्बन्धलाई ऊर्जाशील बनाउन उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलबिच गहन छलफल भयो । उपविदेशमन्त्री बैठकमा सहभागी मात्र हुनुभएन, उच्चपदस्थ व्यक्तित्वसँग भेटघाटसमेत गर्नुभयो । भेटका अवसरमा नेपालका विकास प्रयासमा चीनले लामो समयदेखि नै साथ र सहयोग उपलब्ध गराउँदै आएको सम्बन्धमा विचार आदानप्रदान गरियो । चीनले असल छिमेकीको आधारमा नेपालको समग्र विकासलाई विगतदेखि नै प्राथमिकतामा राखेको छ । महत्वपूर्ण पक्ष, चीनको नेपालसँग गाँसिएको स्वार्थ भनेको नेपाली भूमिबाट कुनै किसिमको अवाञ्छित गतिविधि हुन नपाओस् भन्ने मात्र हो । छिमेकीको सुरक्षा चासोप्रति विश्वस्त बनाउनु नेपालका लागि असल सम्बन्धको कडीसमेत हो । पछिल्लो पटक चीनले बन्द रहेका सीमा नाका सबै खुला गरेको छ भने नेपालीका लागि भिसा शुल्कसमेत हटाएको छ । यसको सदुपयोग गर्दै बढ्दो व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा विशेष जोड दिन आवश्यक छ । चीन सरकारको सहयोगमा गरिएको नेपाल–तिब्बत विद्युत् प्रसारण लाइन विस्तार तथा सीमा सडक निर्माणले नेपालको विकास प्रयासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।