काठमाडौँ, असोज २ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य सुधाराेन्मुख रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधाराेन्मुख रहेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधाराेन्मुख छ ।”
प्रवक्ता बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको जानकारी दिनुभयो ।उहाँ भन्नुहुन्छ, “परिस्थिति सबै राम्रो छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि उहाँहरू यहाँबाट जानुहुन्छ ।”
मङ्गलबार भएको जेनजी प्रदर्शनका क्रममा उहाँहरूमाथि आक्रमण हुँदा देउवा दम्पती घाइते हुनुभएको हो ।
भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए । देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै घरबाट निकालेका थिए । प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि उहाँहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो । अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा उपचाररत हुनुहुन्छ।