अमृतप्रसाद पौडेल
म्याग्दी, असोज २ गते । कारागारबाट भागेका ७६ जना कैदी बन्दीमध्ये नौ जना अझैसम्म पनि नियन्त्रणमा आउन सकेका छैनन् । जिल्ला कारागार शाखा म्याग्दीबाट गएको भदौ २५ गते बुधबार तोडफोड गरेर भागेका ७६ जना कैदीबन्दीमध्ये ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि नौ जना अहिलेसम्म नियन्त्रण बाहिर छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर सागर पौडेलले नियन्त्रणमा आएकालाई स्वास्थ्य परीक्षणपछि कारागार पठाइएको बताउनुभयो । जिल्ला कारागार शाखा म्याग्दीमा कैदीबन्दीका आफन्तहरु बाहिरबाट गएका १६ जना तथा भित्र रहेका कैदीबन्दीले गरेको तोडफोडपछि ७६ जना भागेका थिए । भागेकामध्ये हालसम्म ३५ जनालाई प्रहरीले गिरफ्तार गरेर तथा ३२ जना कैदीबन्दी आफै सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
‘कारागारबाट भागेकाहरुमध्ये हालसम्म ६७ जनालाई प्रदेश अस्पताल बेनीमा स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कारागारमा ल्याएर बुझाएको र ९ जना अझै फरार रहेका छन्’ जेलर प्रतिज्ञा सुवेदीले भन्नुभयो ।
यसैबिच २५ गते बुधबार बिहान कारागार कार्यालय तोडफोग गर्न पुगेका समूहमध्ये प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका –२ का २९ वर्षिय अर्जुन जिसी, २६ वर्षिय डिलबहादुर सापकोटा, बेनी नगरपालिका –१ का २६ वर्षका कृष्णबहादुर मगर, २७ का सुनिल थापा, ३१ का सुसन थापा र १९ वर्षका अभिषेक परियार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई कारागार ऐन २०७९ को परिच्छेद ८ को कसुर तथा सजाय अन्तर्गत दफा ४९ कसुर तथा सजायको उपदफा २ मा कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना वा दुवै हुनेछ । सोही दफाअनुसार जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । कारागार तोडफोड गरी १५ जनाभन्दा बढी कैदी बन्दीलाई भगाएको स्थानीयको भनाइ छ ।