• १४ वैशाख २०८३, सोमबार

राष्ट्रपति पौडेललाई बिर्केटोपी

blog

बिर्केटोपी लगाएर कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १४ गते । आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घा आइपुग्नु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भानुभक्तकालीन प्रसिद्ध ’बिर्केटोपी’ लगाइएको छ । 

‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि सोमबार गृहजिल्ला तनहुँ आउनुभएका राष्ट्रपति पौडेललाई भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले आदिकविको पहिचान र सम्मानस्वरूप उक्त बिर्केटोपी लगाइदिनुभएको हो ।

भानुभक्तले लगाउनेजस्तै विशिष्ट शैलीको उक्त टोपीमा सजिएपछि राष्ट्रपति पौडेलको उपस्थिति र कार्यक्रमको रौनक अझ ऐतिहासिक देखिएको थियो । भानु नगरपालिकाले आफ्नो पहिचान र गौरवका रूपमा भानुभक्तकालीन पोशाक र विशेषगरी बिर्के टोपीलाई संरक्षण गर्दैआएको छ । 

नगरपालिकामा कार्यरत कर्मचारीले समेत नियमित रूपमा बिर्केटोपी लगाउने अभ्यासले यहाँको मौलिकतालाई जोगाइ राखेको स्थानीयहरू बताउँछन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले राष्ट्रपतिले टोपी लगाएपछि टोपीको माग बढ्ने विश्वास व्यक्त गर्नुभयो ।