अनिल पराजुली
हेटौँडा, वैशाख १४ गते । हेटौँडामा सोमबारदेखि मध्य पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ ।
७ नम्बर बाहिनी अड्डाअन्तर्गत गोरखबहादुर गणको आयोजनामा हेटौँडाको सुपारीटार ब्यारेकस्थित खेल मैदानमा प्रतियोगिता अन्तर्गत फुटबल खेलको उद्घाटन गरिएको हो ।
मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी विष्णुकुमार खड्काले दीप प्रज्वलन गरी प्रतियोगिताको शुभारम्भ गर्नुभयो । प्रतियोगिताको पहिलो दिन गोरख बहादुर गणले २–१ गोल अन्तरले भैरव गणलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
प्रतियोगिता अन्तर्गत मङ्गलबार शेर गण र नयाँ सबुज गणबिच प्रतिस्पर्धा हुने गोरख बहादुर गण, सुपारीटारका प्रमुख गणपति प्रमुख सेनानी रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत विभिन्न स्थानमा विभिन्न खेल सञ्चालन हुने छन् ।
मध्य पृतना हेडक्वाटरमा स्विमिङ र बक्सिङ, ६ नम्बर बाहिनी अड्डा अन्तर्गत नुवाकोटस्थित शेर गणमा बास्केटबल, धादिङस्थित भैरव गणमा भलिबल, ७ नम्बर बाहिनी अड्डा अन्तर्गत चितवनस्थित नयाँ सबुज गणमा तेक्वान्दो र जुडो तथा मकवानपुरको सुपारीटारस्थित गोरख बहादुर गणमा एथलेटिक्स र फुटबल खेल सञ्चालन हुने छन् ।
प्रतियोगिताको समापन वैशाख २८ गते गोरखबहादुर गण, सुपारीटार ब्यारेकमा हुने जनाएको छ । समापन समारोहमा फुटबलको फाइनल खेलका साथै विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा गण र बाहिनीहरूलाई ट्रफी वितरण गरिने मध्य पृतनाको मुख्यालयले जनाएको छ ।