• १४ वैशाख २०८३, सोमबार

गलकोटबाटै स्थायी लेखा नम्बर प्राप्त हुँदा स्थानीय खुसी

blog

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने गलकोट नगरपालिकाबाट स्थायी लेखा नम्बर वितरण गरिँदै। तस्बिर–नवराज नेपाली ।

नवराज नेपाली

बागलुङ (गलकोट), वैशाख १४ गते । बागलुङको गलकोट नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर वितरणको काम सुरु भएपछि सेवाग्राहीलाई बागलुङ पुग्नुपर्ने झन्झट हटेको छ। 

आन्तरिक राजस्व कार्यालय बाग्लुङबाट सम्पादन हुने व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर गलकोट नगरपालिकाबाटै सेवा प्रवाह हुन लागेको नगरपालिकाको सूचना अधिकारी राजु शाहनीले जानकारी दिनुभयो।

व्यक्तिगत स्थायी लेखा नम्बर लिन चाहने व्यक्तिहरूले अनलाइनमार्फत फारमभरी सब मिसन नम्बरको आधारमा प्यान लिन सकिने र व्यावसायिक स्थायी लेखा नम्बरका लागि व्यवसाय दर्ता प्रमाण पत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र, जग्गाधनि पुर्जा, भाडा सम्झौता सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा व्यावसायिक प्यान लिन सकिने सूचना अधिकारी राजु शाहनीले जानकारी दिनुभयो।

दुई महिना अगाडिबाट गलकोट नगरपालिकाबाट सो सेवा उपलब्ध भए पनि प्रचार–प्रसार तथा जानकारी नहुँदा अझै पनि आन्तरिक राजश्व कार्यालयमा नै धाउने गरेको आन्तरिक राजश्व कार्यालय बागलुङका कार्यालय प्रमुख कपिल सिलवालले बताउनुभयो।

हाल कर चुक्ता लगायतका कार्य अनलाइनबाटै प्राप्त गर्न सकिने सेवा प्रदान गरिएकोमा व्यक्तिगत र व्यावसायिक लेखा नम्बरसम्बन्धि सेवा बागलुङका सबै स्थानीय तहमा बिस्तार गरिने आन्तरिक राजश्व कार्यालय बागलुङका सूचना अधिकारी राजनमणि शर्माले जानकारी दिनुभयो।

गलकोट नगरपालिकाबाट नै  स्थायी लेखा नम्बर प्राप्त गरेका ताराखोला–४ कि माया घर्तीले बागलुङ पुग्दा लाग्ने खर्च र समय बचत भएको बताउनुभयो ।