• ३१ भदौ २०८२, मङ्गलबार

लयमा फर्कंदै जनजीवन

blog

हरेक मुलुकमा कतिपय कालखण्ड असहज हुन्छन् । परिवर्तनका निम्ति कष्टसाध्य पीडा भोग्नु पर्छ । जनजीवन असहज बन्छ । नवपुस्ता अर्थात् जेनजीले भदौ २३ र २४ गते परिवर्तनका निम्ति आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्न पुग्यो । कैयौँको ज्यान गयो । अकल्पनीय भौतिक सम्पत्ति नष्ट भयो । राज्यका तिनै निकाय कार्यकारी, व्यवस्थापिका, न्यायपालिकाका भौतिक सम्पत्ति खरानी भए । मौजुदा सरकार ढल्यो । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा संवैधानिक सीमाभित्रैबाट अन्तरिम सरकार बन्यो । सरकार पूर्णतातर्फ अग्रसर छ । गृहकार्य, संवाद र सहमति हुँदै छ । नयाँ सरकार बनेसँगै जनजीवन लयमा फर्कन थालेको छ । उपत्यकाका तीन वटै जिल्लामा जारी गरिएको कफ्र्यु तथा निषेधाज्ञा आदेश हटेपछि शनिबारदेखि नै बजार, पसल खुल्न थाले । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था मिलाउन धेरै मेहनत गरे । नेपाली सेनाको भूमिका प्रशंसनीय रह्यो । देशका अन्य जिल्लामा पनि जनजीवन सामान्य बन्दै गएको छ । सुरक्षा व्यवस्थामा सुधार हुँदै छ । दसैँ नजिकिँदै छ । जनजीवन सहज बनाउन सबैको प्रयास सराहनीय छ ।

प्रधानमन्त्री कार्कीले आइतबार पद बहाली गर्नुभयो । पद बहालीपछि राष्ट्रका नाममा उहाँले सम्बोधन गर्नुभयो । सुरक्षा निकाय, प्रहरीका बिट, सर्वोच्च अदालत, तराईका जिल्ला अदालत, उच्च अदालतलगायत सिंहदरबारसमेत आगोमा जलेको यथार्थ राख्दै उहाँले शून्यबाट काम थाल्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुभएको छ । हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइल सबै नष्ट भएका छन् । भौतिक क्षतिले केही हुँदैन; बनाउन पनि सकिन्छ तर अभिलेख, विवरणहरू सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुगेको छ । आन्दोलनमा ज्यान आहुति दिनेको उच्च सम्मान जरुरी छ । सुरक्षाकर्मीको देहावसान पीडा अझ बेग्लै छ । प्रधानमन्त्री कार्कीले पद बहालीअघि नै शनिबार राजधानीका विभिन्न अस्पतालमा पुगेर आन्दोलनका घाइतेसित भेट्नुभयो । उपचारको अवस्थाबारे जानकारी लिई घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सबैतिरबाट जनजीवन सहज हुने क्रमसँगै सवारीसाधन चल्न थालेका छन् । राजधानी उपत्यकामा शनिबार साँझदेखि निजी तथा सार्वजनिक सवारी चल्न थाले । सरकारी तथा निजी क्षेत्रका कार्यालय र विद्यालय आइतबारदेखि खुले । काठमाडौँ महानगरपालिकाले आइतबार शिक्षक र कर्मचारीलाई विद्यालयमा उपस्थित गराई सफाइ, भौतिक पूर्वाधारको व्यवस्थापन ग¥यो । विद्यार्थीलाई मनोपरामर्श दिने व्यवस्था गरिएको छ । कतिपय विद्यालयले असोज १ देखि दोस्रो त्रैमासिक परीक्षाको तालिका यसअघि नै सार्वजनिक गरिसकेकाले त्यसको तयारी पनि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयलगायतका उच्च शैक्षिक संस्थाले भने छठसम्म बिदाको व्यवस्था मिलाएका छन् । निर्धारित परीक्षा बिदापछि सारेका छन् । यसले समयको चाप व्यवस्थापन गर्न सहज भएको छ ।

सरकार, निजी क्षेत्रलगायत सम्पूर्ण प्रयास जनजीवन सहज बनाउन एकीकृत भएको छ । यस्तो अवस्थमा धैर्य, संयम, लगनशीलता र राष्ट्रिय एकता आवश्यक पर्छ । निजी क्षेत्रका धेरै संरचना खरानी भएका छन् । व्यवसायीले कतिपय भौतिक संरचना खरानी भए पनि आत्मबल उच्च बनाएका छन् । सुरक्षा निकायका कतिपय तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनामा समेत व्यवसायीले हातेमालो गर्न थालेका छन् । आगजनी भएका राजनीतिक पार्टीका कार्यालयलाई फेरि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता देखिन थालेको छ । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त सिंहदरबार पुगेका कर्मचारी स्तब्ध भए । यो स्वाभाविक शोक जस्तै हो । अब शोकलाई शक्ति र प्रतिबद्धतामा बदलेर अगाडि बढ्नु आवश्यक छ । कार्यकारिणी तथा न्यायालयका कामलाई पुनः लयमा फर्काउन सबैले हातेमालो गरी अघि बढ्नु पर्छ । आगजनी भएका भवनको आँगनका पालमा बसेर न्यायालयले काम थालेको छ । 

आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालय तथा सङ्घीय कार्यालयहरूको सरसफाइ थालिएको छ । क्षतिको मूल्याङ्कनतिर वातावरण अगाडि बढेको छ । आइतबारदेखि सिंहदरबार पुनः लयमा फर्किएको सन्देश गएको छ । आन्दोलनमा घुसपैठ गरेर सरकारी, सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्ने सही अर्थमा आन्दोलनकारी नवपुस्ता हुनै सक्दैन । राष्ट्रिय झन्डा बोकेर आगजनी, चोरी र लुटपाट गरिएका भिडियो फुटेज प्रशस्त छन् । ती अपराधजन्य कुकार्य हुन्, त्यस्ता कार्यलाई दण्डनीय बनाउनु पर्छ । सरकारी संयन्त्रले यसमा काम थालेको छ । आपराधिक क्रियाकलापमा संलग्न जोकोहीलाई कानुनको कठघरामा ल्याउन सबै एकसाथ उठ्नु पर्छ । नवपुस्ताको आन्दोलन सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका निम्ति हो । सिंहदरबारमा आगो लगाउने आन्दोलनकारी हुन सक्दैन । न्यायको मन्दिर सर्वोच्च अदालत जलाउने आन्दोलनकारी हुन सक्दैन । यस्ता अपराधजन्य कार्यमा संलग्नलाई कानुनको दायरामा ल्याउन सरकारलाई सबैले सघाउनु पर्छ । क्रमशः लयमा फर्किएको जनजीवन नै भोलिको आशा र विश्वास हो ।