• ८ मंसिर २०८१, शनिबार

पलिस्वाँ फुलेपछि फुरुङ्ङ राममती

blog

भक्तपुर, असार ११ गते । बोडेको ऐतिहासिक पलिस्वाँ पुखुः (कमल पोखरी) मा आधा शताब्दीपछि फुलेका छन्, ढकमक्क कमल । त्यही पोखरीबाट कमल फुल टिपेर कलकलाउँदो चुल्ठोमा सिउरेकी थिइन्, धेरै वर्षअघि राममती श्रेष्ठले । पोखरीको डिलमा उभिएर पलिस्वाँ हेरेर टोलाइरहेकी स्थानीय राममती पलिस्वाँ पुखुः ले यसरी पुनर्जीवन पाएकोमा आश्चर्यचकित हुनुहुन्छ । घर बनाउन जग खनिसकेको पोखरीमा फेरि कमल फुल्ला भनेर कसले पत्याएको थियो र ?

मध्यपुर थिमी नगरपालिका–८, बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमलपोखरी व्यक्तिका नाममा दर्ता भइसकेको थियो । पोखरीमा किला गाडेर पटक पटक किनबेच भइसकेको ऐतिहासिक पोखरीको अधिकार फेरि पनि स्थानीयले आफ्नो मातहत ल्याउन सफल भएका छन् । 

मुजा परेको मुहारमा खुसी उघारेर राममतीले भन्नुभयो, “पलिस्वाँ पुखुः फेरि यस्तो होला भनेर सोचेकै थिइनँ । बाल्यकालमा देखेको पोखरीमा कमल फुलेको देख्दा खुसी लाग्छ । मलाई त बाल्यकालको सम्झना आइरहन्छ । कहाँ कहाँबाट मान्छे घुम्न पनि आउँछ अहिले त ।” 

मध्यपुर थिमि–६, बोडेका वडाध्यक्ष रमेश थापा श्रेष्ठ व्यक्तिको नाममा दर्ता भइसकेको पोखरी फिर्ता ल्याउन सफलता मिलेकोमा खुसी हुनुहुन्छ । स्थानीय मात्र होइन पोखरी घुमघामका लागि टाढा टाढाबाट मानिस आएको देख्दा श्रेष्ठलाई ज्यादै आनन्दसमेत लाग्छ । उहाँका अनुसार पर्यटकलाई आकर्षित गर्न थिमिदेखि कमलपोखरीसम्म पदमार्ग निर्माण र वृक्षरोपण गर्ने योजना रहेको छ । स्थानीयको मेहनतले कमलपोखरीलाई पहिलेको स्वरूपमा ल्याएपछि त्यसबाट आर्थिक आम्दानी कसरी गर्न सकिन्छ भन्नेतर्फ समेत योजना बनाइने वडाध्यक्ष थापा श्रेष्ठले बताउनुभयो । 

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएको थियो । पोखरी सम्याएर घडेरी बनाउन डोजर आएपछि स्थानीयवासीले पोखरी बिक्री भएको बल्ल चाल पाए । त्यसपछि विरोधमा उत्रिए पनि ठुला पाखुरा भएका मानिस आएर लालपुर्जा तेस्र्याउँथे । त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिकासहितको सहयोगमा अदालतको ढोका ढकढकाउन पुगे । भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गतेको फैसलाले उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएको थियो । त्यसपछि पोखरीको संरक्षणमा नगरपालिका जुटेको थियो । उक्त आदेशको भोलिपल्टै मध्यपुर थिमि नगरपालिकाले डोजरको सहायतामा पोखरीमा सफाइ कार्य गरेको मध्यपुर थिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ स्मरण गर्नुहुन्छ ।  

पूर्वप्रमुख श्रेष्ठ बाल्यकालका ती दिन सम्झनुहुन्छ, “म सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बावुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो । व्यक्तिका नाममा गयो भनेपछि चुप लागेर बस्न मनले मानेन । म नगरप्रमुख भएर आएपछि पोखरी जोगाउने दायित्व पनि थपियो । स्थानीयवासीसँग काँधमा काँध मिलाएर अदालत गइयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि हाम्रै पक्षमा फैसला आएपछि यो पोखरीको संरक्षणमा जुटियो ।”

नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँ अप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनर्निर्माण गरी वरिपरि बार लगाइएको छ । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलवाराही नाचमा यहीँको फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने ५० वर्षअघिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको छ । यस कार्यले संस्कृति र परम्पराको जगेर्ना हुनुका साथै विगतमा छुटेका सबै धार्मिक परम्परा अब सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । पोखरीनजिकै नगरपालिकाले पुनर्निर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न पुगेको छ ।