• २ साउन २०८१, बुधबार

जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी

blog

बागलुङ बजारको विद्यामन्दिरमा हरेक शुक्रबार जसो कविता वाचन, वादविवाद जस्ता गतिविधि भइरहन्थ्यो, त्यो बेला । वादविवादका शीर्षक हुन्थे, तरबार ठुलो कि कलम ? विद्या ठुलो कि धन ? यस्तै कार्यक्रममा जुरुक्क उठेर ३ कक्षामा पढ्ने एउटा बालकले बिनाप्रसङ्ग बोल्यो, “आजकालका बाहुन रक्सी खान्छ, कुखुरा खान्छ, आफूलाई मास्टर भन्छ ।” सबै जना गलल्ल हाँसे । त्यो बालक लाजले भुतुक्कै बन्यो तर शिक्षकले बोलाएर तीन वटा कापी र सिसाकलम पुरस्कार दिएर पठाए । 

त्यो बिनाप्रसङ्गको जबरजस्त वास्तविकता बोल्ने बालक थिए, क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा ‘टावरिङ जजेज’ का रूपमा हालै सूचीकृत पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ । जीवनका करिब ४२ वर्ष न्यायिक सेवामा बिताएर अवकाश जीवनमा रमाइरहेका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ यतिबेला चाहिँ सिर्जनाकर्ममा डुब्नुभएको छ । खुला आकाशमा उडेको पन्छी जस्तै, कुनै भूगोलको सिमानाले नछेक्ने पवन जस्तै । उहाँले भन्नुभयो, “परिभाषामा खोज्ने विषय होइन रहेछ जीवन । पेसा, मान, पद अग्लो होला तर जिन्दगी अग्लो रहेनछ ।” उहाँको आत्मबोध छ, हिजो जस्तो आज रहेन । निरन्तर बदलिइरहने अनित्यताको शृङ्खला रहेछ जीवन । जिउने कला, विषय, अनुभूति रहेछ जीवन । त्यसैले त उहाँ गीतमा यसरी पोखिनुभयो, 

जिन्दगी के बुझ्नु जिन्दगी

जिन्दगी के सोच्नु जिन्दगी

के बुझ्नु जिन्दगी यो भोग्ने कुरा

के सोच्नु जिन्दगी यो जल्ने कुरा

जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी

जति तर्न खोजे पनि छोटै हुन्छ जिन्दगी

उहाँको भर्खरै सार्वजनिक ‘नबुझिएको जिन्दगी’ गीतिएल्बममा यो गीत समेटिएको छ । सो एल्बममा तिमी अर्कै भयौ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका सात वटा गीत समावेश छन् । उहाँका गीतमा जीवन दर्शन, आध्यात्मिक चिन्तन, देशप्रेमले ओतप्रोत गीतिशब्द छन् । 

उहाँको यो दोस्रो गीतिएल्बम हो । २०८० सालमा उहाँको पहिलो गीतिएल्बमका रूपमा ‘जिन्दगीका तरेली’ सार्वजनिक भएको थियो । भर्खरै सार्वजनिक ‘नबुझिएको जिन्दगी’ मा आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर रहेको छ । गीतिएल्बममा शक्ति वल्लभको एकल सङ्गीत रहेको छ । उहाँलाई लाग्छ, किन लेख्ने ? लेखेर के हुन्छ ? तर उहाँका अनन्य मित्र गीतकार चूडामणि देवकोटाले ‘लेख्नु पर्छ’ भनेर सिर्जनशील दबाब दिन कहिल्यै छाड्नुभएन । हुन त उहाँ नलेख्ने पनि कहाँ हो र ? विद्यार्थी जीवनदेखि नै कविता लेख्ने गरेका श्रेष्ठले आफ्ना रचनाको जतनचाहिँ कहिल्यै गर्नुभएन र अहिले पनि गर्नुहुन्न । उतिबेला लेखिएका कविता कता छन् कता ? हामीसँग गफिँदै गर्दा गीतिएल्बम खोज्न दराजतिर लम्किएका श्रेष्ठले भन्नुभयो, “म अलि अव्यवस्थित छु । मेरा सबै राखनधरन र व्यवस्थापन श्रीमतीजीले नै गरिदिनु पर्छ ।”

आफ्ना जति पनि रचना मोबाइलमा लेख्नुहुन्छ र देवकोटालाई म्यासेज गरिदिनुहुन्छ । राफसाफ र राखनधरन गीतकार देवकोटाले गर्दागर्दै एउटा कविता सङ्ग्रह नै तयारी अवस्थामा पुगेको छ । करिब ६० वटा जति जीवन भोगाइ, अनुभव र अनुभूतिले सिर्जित कविता तयार छन् । उहाँले कविता कृतिको नाम ‘मन बरालिएपछि’ जुराउनुभए पनि देवकोटाको प्रस्ताव छ, ‘यादको बलेसी’ । श्रेष्ठसँग गीतकार देवकोटाले एकदिन सङ्गीतकार शक्ति वल्लभको चिनजान गराउनुभयो । त्यो भेटघाटको भित्री उद्देश्य श्रेष्ठलाई सिर्जनाकर्ममा थियो । लामो अनुरोधपछि एकदिन श्रेष्ठले वल्लभलाई एउटा कविता पठाउनुभयो । केही दिनमा त्यो कवितामा मधुर धुन भरियो । जुनबेला गीत कसरी बन्छ भन्नेसमेत श्रेष्ठलाई थाहा थिएन । त्यसपछि गीत रेकर्डिङसम्मका सबै प्रक्रियामा उहाँ सहभागी बन्दै जानुभयो । उहाँमा गीत लेखनप्रति केही उत्सुकता, सक्रियता र ऊर्जा मिल्दै गयो । प्रधानन्यायाधीशबाट अवकाशपछिको करिब दुई वर्षको समयलाई सम्पूर्ण रूपमै सिर्जना कार्यमा लगाउँदै आएका श्रेष्ठले भन्नुभयो, “गीत लेख्न सक्छु जस्तो लागेकै थिएन । गीत लेख्न सक्छु भन्ने आत्मविश्वासै थिएन । गीतकार बन्ने चेष्टा, क्षमता र लक्ष्य पनि थिएन ।” अन्ततः उहाँले दुई गीतिएल्बम नेपाली सङ्गीत अनुरागीलाई समर्पण गर्नुभएको छ । एउटा गीतसङ्ग्रह प्रकाशनको तयारी अवस्थामा छ ।

उहाँका सिर्जनामा समाज छ । जनता छ । देशप्रेम छ । समसामयिकता छ । आध्यात्मिक चिन्तन मनन र जीवन दर्शन छ । तथापि, आफ्नो लेखन प्रवृत्ति र विषयवस्तुबारे श्रेष्ठको स्वीकारोक्ति छ, “पेसाले अनुशासित कर्म गरेँ तर लेखनमा म अराजक बन्छु ।” उहाँ आफ्ना सिर्जनामा समेत विपक्षी र विद्रोही चेत राख्ने गर्नुहुन्छ । उहाँमा विपक्षी र विद्रोही स्वभाव विद्यार्थी जीवनदेखिकै हो । शब्दसँग खेल्ने बानी उहिल्यैदेखिको हो । त्यो स्वभाव अहिलेसम्म पनि बोकेका श्रेष्ठले देशको विधान र संविधानका सन्दर्भमा समेत प्रस्ट रूपमा आफ्ना धारणा राख्दै आउनुभएको छ । 

उहाँमा रहेको प्रस्टपना, अभिव्यक्ति र निडर स्वभाव विद्यालयमा सबैले रुचाउँथे । शिक्षक प्रशासनमा केही भन्नु परे सबै साथीभाइले उहाँलाई नै अघि लगाउँथे । त्यो समयमै विद्यालयस्तरमै छानिएर अञ्चलसम्म पुगेर कविता वाचन गर्नुभएको हो । अञ्चलस्तरीय बालकविता प्रतियोगितामा पुरस्कार थाप्नुभएको हो । तथापि, उहाँले ४० वर्षपछि यस वर्ष पोखरामा पुगेर लिट्रेचर फेस्टिभलमा ‘विस्मृति विमुक्ति’ शीर्षक कविता सुनाउनुभयो,

मृत्युको अमरत्वलाई

तिम्रो यादको बन्दक हुन दिन्नँ ।

उहाँका दुवै गीतिएल्बममा जिन्दगीका धेरै कुरा समेटिएका छन् । एल्बमको नाममा समेत जिन्दगी जोडिएका छन् । यस्तो किन ? के यो संयोग हो ? उहाँले भन्नुभयो, “कवितामा पनि जिन्दगी नै जिन्दगी छ ।” किन होला ? मलाई पनि त्यस्तै लाग्छ । जिन्दगीले थकाइ मार्दै छ कि क्या हो ? चार दशकभन्दा बढीको न्याय सेवाबाट उहाँले देशको कानुनी शासन नियाल्नुभयो । शासनसत्ता, नागरिकका न्यायलाई नजिकबाट आत्मसात् गर्नुभयो । निसाफ पर्गेल्नुभयो । के ती घटना, परिघटना, दृश्यलाई लिपिबद्ध गर्दै हुनुहुन्छ कि ? यो जिज्ञासा राख्दै गर्दा उहाँको जवाफ थियो, “के ती लेख्न पर्ला र ? धेरैले लेख्नु पर्छ पनि भनेका छन् । हामी लेख्न सहयोग गर्छौं पनि भन्ने छन् तर आत्मप्रकाशन नगरौँ कि भन्ने लाग्छ । सम्झना भन्ने पनि अनित्य हो । अनित्य बेहोर्ने हो, त्यो गर्न बाध्य छौँ तर यो सम्झने विषय होइन ।” 

अवकाशप्राप्त समयमा आफन्त साथीभाइ भेटघाट अझ बढेको छ । गीतकारका रूपमा नयाँ परिचय स्थापित गर्दै गर्दा जीवनको नयाँ अनुभूतिसमेत सँगाल्दै हुनुहुन्छ । यस क्रममा मिडिया भेटघाटसमेत बढ्दो छ । फुर्सदको समयमा लेखनकार्यमा समेत सक्रिय उहाँले साथीभाइ र परिवारलाई सम्पूर्ण समय दिइरहनुभएको छ । कुपण्डोलस्थित निवासमा हाम्रो भलाकुसारी अन्त्य गर्दै गर्दा कल्याण श्रेष्ठले पुनः दोहो¥याउनुभयो,

जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी

जति तर्न खोजे पनि छोटै हुन्छ जिन्दगी