• १० मंसिर २०८१, सोमबार

गन्तव्य लाङटाङ

blog

काठमाडौँ खाल्डोबाट मौसम खुल्दा टाढा देखिने हिमाललाई नजिकैबाट आँखाले स्पर्श गर्न पाउने सुनौलो अवसरलाई कसले पो अस्वीकार गर्न सक्थ्यो र ! हिमाल हेर्ने र प्रकृतिसँग मितेरी गाँस्दै पदयात्रा गर्ने त्यही उत्कट चाहनाले तानेर मलाई लाङटाङ भ्यालीको यात्रामा डो¥याएको थियो । यो सुनौलो अवसर जुराइदिएको थियो, मातृअरबिन्द माध्यमिक विद्यालय चन्द्रागिरि काठमाडौँले । विद्यार्थीलाई व्यावहारिक सिप, उत्पादनमुखी शिक्षामा जोड दिँदै देशको भूगोल, संस्कृति, प्रकृति चिनाउने तथा आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष गरिने देश भ्रमण अन्तर्गत यस पटक विद्यार्थी शिक्षकको समूह लाङटाङ पदयात्रामा निस्कियो । २०८१ जेठ १३ देखि १७ सम्म पाँच दिन तय गरिएको अवलोकन भ्रमणले ममा नयाँ उत्सुकता र उमङ्ग थपिदिएको थियो । 

तोकिएको मितिको पहिलो दिन अर्थात् जेठ १३ गते प्रातः ४:३० बजे ४२ जनाको ठुलो समूह काठमाडौँबाट निस्कियो । बालाजुबाट टोखा हुँदै काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्ज, नुवाकोट बजार अनि बेत्रावतीको किनारैकिनारको हाम्रो यात्रा निकै सहज, मनोरञ्जनात्मक र रोमाञ्चक रह्यो । कला र गलाले निपूण शिक्षक तथा विद्यार्थीको गायन र नृत्यले बाटो कटेको पत्तै भएन । बेत्रावती किनारको कतै कच्ची त कतै पक्की बाटो हुँदै हाम्रो बस रसुवाको धुन्चेतर्फ उक्लियो । बिहानको करिब ९ः३० बजे हामी लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुग्यौँ । भोकले आकुल भइसकेका हामीले त्यहाँको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै विद्यालयबाटै तयार गरेर ल्याएको अर्गानिक खानेकुराले भोक मेटायौँ । 

रसुवाको सदरमुकाम धुन्चेबाट ओरालो घुम्ती बाटो, आश्चर्य लाग्दा पहाड र पाखापखेरा अवलोकन गर्दै चीनको सीमा हुँदै आउने साङजेङ नदीको किनारमा पुग्यौँ । सिङ्गो रसुवावासीको आर्थिकस्तरमा कायापलट ल्याउने चिलिमे हाइड्रोपावरले पनि यस क्षेत्रमा यो नदीको विशेष महत्व रहेछ । 

करिब सात घण्टाको हाम्रो बसयात्रा स्याफ्रुबेँसीमा आएपछि टुङ्गियो । गाडीबाट ओर्लिएर आआफ्ना झोला बोकी हामी पदयात्राको रुटतर्फ अगाडि बढ्यौँ । मध्याह्न १२: ०० बजेको टन्टलापुर घाममा साङजेङ नदीको पुल तरेपछि हाम्रो पदयात्रा प्रारम्भ भयो । यात्राको सुरुमै चर्को घाम र नाकको डाँडी नै ठोक्किने उकालो बाटोका कारण केही साथीलाई हिँड्न कठिन हुन थाल्यो । केही समयको विश्राम र जीवनजलको सेवनले यस्तो अवस्थामा अलिक सहज हुने रहेछ । बाटोमा भेटिएका ऐँसेलु, चुत्रो आदिको स्वाद लिँदै बिस्तारै उकालो लाग्दा त्यति धेरै थकानको महसुस भने भएन । उकालो बढ्दै जाँदा पानीको तिर्खा पनि बढ्दै गयो । हामीले बोकेको पानी सकिएको र त्यहाँ पिउने पानीको अभावका बिच ठाउँ र अवस्था अनुसार पानीको महत्व कति हुने रहेछ भन्ने बोध भयो । जब अमृतरुपी चिसो पानी भेट्यौँ तब आँत भिज्ने गरी पियौँ र बजारका कृत्रिम पेयपदार्थलाई बिर्सियौँ । पहाडको टुप्पामा अवस्थित खान्जिमा गुम्बाबाट देखिने वरिपरिको मनमोहक दृश्यलाई पृष्ठभूमिमा पारेर धेरै फोटो खिचेपछि हामी पुनः उकालो लाग्यौँ । बसबाट झरेर उकालो चढ्न थालेको करिब छ घण्टापछि हामी पहिलो दिनको बासस्थान शेर्पागाउँको होटल नमस्तेमा सुस्तायौँ । 

हिमालमा सूर्यको लाली नपोतिँदै उठेर म बाहिर निस्किएँ । छ्याङ्ङ खुलेको आकाश, सामुन्ने मुस्कुराइरहेको हिमाल, प्रकृतिसँगको यो सामिप्यले मलाई मन्त्रमुग्ध बनायो । पूर्वनिर्धारित समय अनुसार बिहानको खाजा खाएर हामीले नयाँ दिनको यात्रा सुरु ग¥यौँ । आजको यात्राको बाटो हिजोको तुलनामा निकै सहज थियो । वरिपरि देखिने हरियाली, हिमाल रसाएर निस्किएको लाङटाङ नदीको छङछङ आवाजले जो कोही यात्रीलाई मोहित बनाउँथ्यो । दुध झैँ सेतो र कञ्चन देखिने लाङटाङ नदीको जलप्रवाहलाई नियाल्दै र त्यसको गहिराइबाट निस्केको ध्वनिलाई सुन्दै यात्रा गर्नु साँच्चै गहिरो ध्यानमा बस्नु जत्तिकै आनन्ददायक क्षण हुने रहेछ । 

यात्राको पहिलो स्टेसन लामा होटलमा पुगेर केही क्षण विश्राम गरेपछि हामी पुनः बाटो लाग्यौँ । नेपालको सगरमाथा र अन्नपूर्ण आधारशिविर पदमार्गपछिको व्यस्त मानिने यस पदमार्गमा प्रशस्त स्वदेशी तथा विदेशी पदयात्रीको आवागमन भइरहेको थियो । सहरको कोलाहल, घडीको सुईसँगै हतारिएर चल्नुपर्ने जीवनलाई केही क्षणका लागि भए पनि विश्राम दिएर आफ्नै लयमा चल्न पाइने यो यात्रा मेरा लागि आफैँसँग संवाद गर्ने, आफ्नै गुनासो सुन्ने र आफैँलाई गहिरिएर बुझ्ने एउटा सुनौलो अवसर पनि थियो । वातावरणलाई गुञ्जायमान बनाएर आफ्नै प्रवाहमा बगेको लाङटाङ नदी, ठाउँ ठाउँमा भेटिने कञ्चन झरना र चराचुरुङ्गीको कलरव ध्वनिले मलाई मोहित बनाउँथ्यो र त्यो प्रकृतिको दिव्य सौन्दर्यको गहिरो अनुभूति गर्दै म अगाडि बढ्थेँ । यसरी समूहकै बिचमा पनि आफूलाई एक्लो बनाएर आफैसँग कुरा गर्दै हिँड्दा झनै रोमाञ्चक हुने रहेछ । प्रकृतिको सौन्दर्यले यात्रामा भएका कठिनाइलाई भुलाइदिन्थ्यो र शरीरमा नयाँ ऊर्जा भरिदिन्थ्यो । 

लगभग पाँच घण्टाको यात्रापछि हामी खाना खाने ठाउँ घोडातबेलास्थित लभ्ली गेस्टहाउसमा पुग्यौँ । भोक र थकानले हैरान भएका विद्यार्थीले होटलमा थपी थपी खाना खाएको देखेर होटलका सञ्चालकले आश्चर्य र रिस मिश्रित भावमा खानाको पैसा थपेर लिने कुरा गरेको सम्झेर हामी बाटोभरि हाँस्यौँ । खाना खाइसकेपछि हामी गन्तव्य लाङटाङ उपत्यकातर्फ अघि बढ्यौँ । यस क्षेत्रमा पाइने ‘सिबक्र्थन’ नामक जडीबुटीबाट निर्मित जुस यहाँ घुम्न आउने पदयात्रीका लागि नौलो र फरक स्वादको पेय रहेछ । हामीले पनि यसको स्वादसँगै यात्रालाई अगाडि बढायौँ । यात्राभरि भेटिन आउने चौँरीगाईका बथानले हामीलाई स्वागत गरे झैँ लाग्थ्यो । निधारमा सेतै हिउँ पोतेर गजधम्म उभिएका अक्करे पहाडको काखैकाख हुँदै अगाडि बढेपछि लाङटाङ उपत्यकामा आइपुग्यौँ । २०७२ सालको भूकम्पका बेला हिमताल फुटेर उपत्यकाको सिङ्गो बस्ती नै पुरेको दुःखद इतिहास रहेछ लाङटाङसँग । सो दुःखद घटनामा १७५ स्थानीय, २६ विदेशी नागरिक र १० नेपाली सैनिकले ज्यान गुमाउनु परेको घटनाको स्मृतिमा स्मारक बनाइएको रहेछ । त्यसको नजिकै बनेको नयाँ बजारमा रहेको होटल मेमोरियलमा झोला बिसाएर आराम ग¥यौँ । खाना खाइवरी विद्यार्थीले नाचगान गर्दै होटल मेमोरियलको बसाइलाई थप मेमोरियल बनाइदिए । 

यात्राको तेस्रो दिनको बिहान ब्युँझनासाथ मेरा आँखा झ्यालबाहिर देखिएको खुला आकाशमा पुगे । खुलेको आकाशमा कतै पर बादलको विशाल सागर जस्तो दृश्य कोठाभित्रबाटै देख्न सकिन्थ्यो । म हतपत होटलको छतमा पुगेँ र बादलले छेक्नु अगावै लाङटाङ बजारको बिहानी सौन्दर्यलाई क्यामरामा कैद गरिहालेँ । 

बिहानको नास्तापछि सबैभन्दा पहिले त्यहाँको रहस्यमय घरको भ्रमण ग¥यौँ । पहराको भित्तामा टाँसिएर रहेको यो घर पहिरोले पनि कुनै असर नपु¥याएको रहेछ । केही समय होटलकै आसपासमा रहेका सुन्दर झरना, पोखरी आदिको भ्रमण ग¥यौँ । आजको हाम्रो यात्रा साढे तीन हजार मिटर माथिको भएकाले उचाइले गर्दा समस्या हुने साथीहरूको विशेष रेखदेख गर्न साथीहरू हरपल तत्पर हुनुहुन्थ्यो । आजको गन्तव्य क्याङ्जिङ गुम्बासम्मको थियो । हामी ९ः०० बजे मेमोरियल गेस्टहाउसबाट गन्तव्यतर्फ अगाडि बढ्यौँ । बाटामा देखिने अलौकिक सुन्दर झरना, नदीको कलकल आवाज र प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पारेकै थियो । हामी हरेक झरना, नदीको छाल र हिमाललाई पृष्ठभूमिमा राखेर फोटो तथा भिडियो खिच्नमा मग्न हुँदै बिस्तारै पाइला चाल्थ्यौँ । लगभग तीन घण्टाको यात्रापछि हामी गन्तव्यमा पुग्यौँ । त्यहीँ रहेको होटल यतिमा खाना खाएर केही क्षणको आरामपछि त्यहाँ निर्मित हाइड्रोपावरको ड्याम अवलोकनका लागि तालतर्फ प्रस्थान ग¥यौँ । लाङटाङ हिमाल पग्लिएर आएको पानीलाई ड्याम बनाई त्यहाँ दुई सय किलोवाटको हाइड्रोपावर बनाइएको रहेछ । हिमालको काखमा रहेको यो सुन्दर ताल र ड्यामबाट ओभरफ्लो भई बगेको पानीले निर्माण गरेको झरनालाई क्यामरामा जति कैद गर्दा पनि हाम्रो धित मरेकै थिएन । यी सब दृश्य हेर्दै हामी खुब रमायौँ । वसन्त ऋतु गइसक्दा पनि अझै फुल्दै गरेका सेता, राता गुराँसहरू तालको वरिपरि प्रशस्त देखिन्थे । तालको किनारमा उभिएर तालको पानीलाई चुम्बन गर्न झुकेका ती गुराँसका फूल हेरेर चैत वैशाखमा फूल नओइलाउँदै त्यहाँको दृश्य कति दिव्य थियो भन्ने अनुमान गर्न सकिन्थ्यो । 

टलक्क टल्किएका हिमाललाई छिनमै ढपक्क ढाक्ने र छिनमै छ्याङ्ङ खुल्ने कुहिरोको खेल बडो रोमाञ्चक थियो । कुहिरो उडेर जाँदा मौसम सफा देखिन्थ्यो । आँखै अगाडिका हिमालका तस्बिरहरू आँखा र क्यामरा दुवैले कैद गथ्र्याे । मौसम खुल्दा माथि हिमाली पाखामा छिनछिनमा हिमपहिरो खसेको देखिन्थ्यो, जुन दृश्य हाम्रा लागि निकै आश्चर्य लाग्दो थियो । आँखै अगाडि टल्किएको हिमाल र कुहिरोको लुकामारी हेर्दाहेर्दै समयले नेटो काटेको पत्तै भएन । जति हेरे पनि मन नभरिने यी दृश्य हेर्न भोलि बिहानै आउने वाचा गरेर हामी होटलतर्फ लाग्यौँ ।

एउटा अँध्यारो रातको प्रतीक्षापछिको यो बिहान मेरा लागि उत्सुकता र नयाँ ऊर्जाले भरिएको थियो । लाग्थ्यो, जीवनका हरेक बिहान यस्तै भैदियोस्; उन्मुक्त, प्रेम, रोमाञ्चक, अर्थपूर्ण, यस्तै यस्तै......। पृथ्वीको गर्भबाट सूर्योदयको दृश्य हेर्ने त्यो पनि चार हजार चार सय मिटरको उचाइबाट यो मेरा लागि कम्ता खुसीको विषय थिएन । पूर्वनिर्धारित निर्णय अनुसार बिहानको ४ बजे नै हामी हिमालतर्फ उकालो लाग्यौँ । सूर्योदयभन्दा पहिले नै चार हजार चार सय मिटरको उचाइमा पुगेर स्वच्छ खुलेको आकाश र हिमाललाई नियाल्नु एउटा अलौकिक आनन्दको अनुभूति थियो । जीवनको एउटा नयाँ रहस्य खुले झैँ बिस्तारै पृथ्वीको गर्भबाट सूर्य निस्किएर हिमाललाई सुनौलो रङले रङ्ग्यायो र बिस्तारै धरतीतर्फ उज्यालो बाँड्न थाल्यो । यो अनुपम दृश्य म मन्त्रमुग्ध भएर हेरिरहेँ । सूर्योदयको पहिलो चुम्बन पोतिएर सुनौलो बनेको लाङटाङ हिमशृङ्खलाको हामीले प्रशस्त फोटो खिच्यौँ; दृश्य हेरेर रमायौँ । यस्तो अलौकिक दृश्य हेर्दा लाग्यो, प्रकृतिमा जीवनको रहस्य लुकेको छ र सौन्दर्यपारखीले मात्र जीवनको रहस्योद्घाटन गर्न सक्छ । हिमालको काखमा बसेर म ध्यानमग्न भएँ । ध्यानस्थ अवस्थामा प्राप्त आत्मिक शान्तिको अनुभूति जीवनमा कुनै पनि भौतिक प्राप्ति, पद, प्रतिष्ठा आदिले दिने खुसीभन्दा माथि थियो । यो कुनै शब्दमा वर्णन गर्न सकिने विषय थिएन । यात्राका अनुपम अनुभूति, हिमालको चम्किलो आभा र रोमाञ्चक अनुभवलाई मनभरि सजाएर हामी हाम्रा पाइलालाई बिस्तारै ओरालोतर्फ बढायौँ ।  

Author

दीपककुमार बोहरा