• २९ असोज २०८२, बुधबार

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना

blog

दमौली (तनहुँ),  असोज २९ गते ।  तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । 

ऋषिङ गाउँपालिका-१ र म्याग्दे गाउँपालिका-१ लिवाङखोला जोड्ने झोलुङ्गे पुल मर्मत, ऋषिङ-१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदलमार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेतीछाब्दी घाट संरक्षण, ऋषिङ-१ स्थित तल्लो सेटाङ भाल्कोन सडक निर्माण र ऋषिङ-७ स्थित कोटदरवार माच्दाङ सडक स्तरोन्नति योजना सम्पन्न भएका आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

भण्डारीले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक निकायबाट नियमित रूपमा अनुगमन गरिएको बताउनुभयो । उहाँका अनुसार यस अवधिसम्म सामुदायिक विकासतर्फका ७९ वटा योजना सम्पन्न भइसकेका छन् भने १३ वटा सञ्चालित छन् । व्यास-५ स्थित पराशर माध्यमिक विद्यालयको प्रवेशद्वारा मर्मत, म्याग्दे-३ को किलचोक शाखा सडकको नाली निर्माण, ऋषिङ-१ मिलन सडकको नाली निर्माण, ऋषिङ-७ को डाँडीवन चुलेसी पहुँच मार्ग, व्यास-५ को सेतीमादी घाट सुधार, भिमाद-५ को वानटाङ खोलामा पक्की पुल निर्माण जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार व्यास-५ मा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक निर्माण, सेतीनदी दायाँ किनार संरक्षण र खानेपानी मुहान सुदृढीकरण कार्यक्रम जारी छन् । ऋषिङ-१ मा खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान र तल्लो सेटाङ भाल्कोन सडक निर्माण भइरहेको जनाउँदै उहाँले भिमाद-५ को मिछुर्लुङ खानेपानी आपूर्ति योजनाका लागि विद्युतीकरणसम्बन्धी कार्य जारी रहेको बताउनुभयो ।

आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”  रासस