• २९ असोज २०८२, बुधबार

कतार, साउदी अरेबिया, इङ्ल्यान्ड र सेनेगल फिफा विश्वकपमा छनोट

blog

काठमाडौँ, असोज २९ गते । कतार, साउदी अरेबिया, इङ्ल्यान्ड र सेनेगलले सन् २०२६ को फिफा विश्वकपमा स्थान बनाएका छन् । 

एसियाली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा कतारले संयुक्त अरब इमिरेट्स (युएई)लाई २–१ गोलले हरायो । घरेलु टोली कतारलाई जिताउन बोआलेम खुखी र पेड्रो मिगुएलले गोल गर्नुभयो ।

यस्तै युएईका सुल्तान आदिल अलामिरीले सान्त्वना गोल गर्नुभयो । कतार पहिलो पटक छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो ।

दोस्रो पटक विश्वकपमा पुगेको कतारले गत संस्करणमा आयोजकको हिसावले मौका पाएको थियो । जितसँगै कतार समूह ‘ए’ को शीर्ष स्थानमा छ । 

यस्तै साउदी अरेबियाले इराकलाई गोलरहित बराबरीमा रोक्दै विश्वकपमा स्थान बनाएको हो । साउदी समूह ‘बी’ मा इराकलाई गोल अन्तरका आधारमा पछि पार्दै शीर्षस्थानमा रह्यो ।

साउदीले सातौँ पटक विश्वकप यात्रा तय गरेको हो । यसअघि उसले सन् १९९४, १९९८, २००२, २००६, २०१८ र २०२२ को विश्वकप खेलेको थियो ।  

यस्तै इङ्ल्यान्ड युरोपबाट विश्वकपमा छनोट हुने पहिलो देश बनेको छ । मङ्गलबार राति भएको खेलमा इङ्ल्यान्डले लात्भियालाई ५–० गोलले हरायो । यस जितसँगै इङ्ल्यान्ड समूह ‘के’ को शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

यस्तै अफ्रिकी छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा मौरिटानियालाई ४–० गोलले हराउँदै सेनेगलले विश्वकपमा स्थान बनाएको छ ।

जितसँगै सेनेगल समूह ‘बी’ को शीर्षस्थानमा रह्यो । सेनेगल चौथो पटक विश्वकपमा पुगेको हो । यसअघि सेनेगलले सन् २००२, २०१८ र २०२२ मा विश्वकप खेलेको थियो ।

अफ्रिकन छनोटबाट दक्षिण अफ्रिका र आइभोरीकोस्टले पनि विश्वकपमा स्थान बनाएको छ । दक्षिण अफ्रिकाले समूह ‘सी’ र आइभोरीकोस्टले समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै विश्वकप यात्रा तय गरेको हो । एजेन्सी