• १९ असार २०८१, बुधबार

बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच सहकार्यको सम्झौता

blog

भैरहवा, वैशाख १५ गते। लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गर्नुभयो। दुई संस्थाबीच पाँच वर्षका लागि भएको सहमति पत्रमा स्थलगत अनुसन्धान कार्यक्रम, संरक्षण र विकाससँग सम्बन्धित परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, सामुदायिक हितका लागि पर्यटनमा सहकार्य गर्ने उल्लेख रहेको छ।

बौद्ध विश्वविद्यालयले देवदहस्थित वनक्षेत्रमा स्थानीयलाई आयआर्जन हुने गरी पर्यावरणीय क्षेत्रमा कार्य गर्नका लागि सहकार्य भएको जनाएको छ। विश्वविद्यालयले बौद्ध धर्मामावली सामुदायिक वन क्षेत्रको करिब ९२ बिगाहा जमिन सरकारको निर्णयबाट प्राप्त गरेको छ। सो जंगल क्षेत्रमा तपोवन निर्माण गरेर अध्ययन अनुसन्धान र आयमुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध संस्कृतिमा रहेर तपोवन निर्माण गर्ने योजना रहेको बताउनुभयो। यो तपोवन विद्यार्थीका लागि अनुसन्धान र आयआर्जन गर्ने स्थानका रुपमा रहने र नमुना वन क्षेत्र बन्ने विश्वास उहाँको छ। 

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले छ वर्ष लामो मेहनेतले देवदहमा विश्वविद्यालयले जंगलसहितको जमिन प्राप्त गरेको स्मरण गर्नुभयो। त्यसलाई बहुउपयोग गर्ने योजना बनाइएको उहाँको भनाइ छ। 

कार्यक्रममा संरक्षण कोषका सदस्य सचिव अधिकारीले विश्वविद्यालयसँग सहकार्य गरेर अध्ययन अनुसन्धानमा कोषले काम गर्न चाहिरहेको बताउनुभयो। बौद्ध दर्शनमा रहेर पर्यावरणीय क्षेत्रमा कार्य गर्न सकिने र छिट्टै ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा विश्वविद्यालयका डीन उकेशराज भुजु, डा. माणिकरत्न शाक्य, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल लगायतले बोल्नुभयो। 

प्रकृति संरक्षण कोषले पर्यावरण संरक्षणमा लामो समयदेखि कार्य गर्दै आएको छ। कोषले प्राज्ञिक विषयमा आवद्ध अनुसन्धान कार्य गर्ने गरी विश्वविद्यालयसँग सहकार्य सम्बन्ध जोडेको हो।


दुई संस्थाबीच सम्झौता आदानप्रदान। तस्बिरः लक्ष्मण पौडेल