• १२ असार २०८१, बुधबार

‘सङ्घीयता कार्यान्वयनका लागि संविधानको पुनरावलोकन गर्नुपर्छ’

blog

संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असार २ गते । पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधान जारी भएको नौ वर्ष भइसक्दा समेत संसदबाट सबै कानुन निर्माण हुन नसक्दा सङ्घीय व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा जान नसकेको बताउनुभएको छ । सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि संविधानको पुनरावलोकन गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ । 

गोरखापत्र संस्थानमा जारी ऐतिहासिक एवम् पुराना तस्बिरको आइतबार अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । संविधानको पूर्ण कार्यान्वयन हुन नसक्नुको पछि कानुन निर्माण हुन नसकेको उहाँको भनाइ छ ।


“हाम्रो संविधान राजनीतिक दस्ताबेजको रूपमा मात्र सीमित भयो, देशको आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक पक्षको विकास नहुनुमा कानुन समयमा आउन नसक्नु हो” उहाँले भन्नुभयो, “संविधानको बारेमा राजनीतिक इच्छाशक्ति र राजनीतिक जबाफदेहिता वाञ्छित मात्रामा भएन । संविधानभित्र पनि लेखाइमा, तुर्जमामा, मस्यौदामा संरचनात्मक समस्याहरू देखा परेका छन् ।” 

सङ्घीयता राम्रोसँग कार्यान्वयन नहुनुको पछाडि पूर्ण रूपमा कानुन नआउनु नै भएको उहाँले बताउनुभयो । संविधान कार्यान्वयनको योजना नबनेका कारण पनि यसो हुन गएको उहाँको भनाइ छ ।


उहाँले संविधानको कार्यान्वयन गर्न नसकिने अव्यवहारिकता, त्रुटिपूर्ण प्रावधान र यसलाई जोगाउनुपर्ने मूल्य र मान्यताको मूलधार पत्ता लगाउनुपर्ने पनि सुझाव दिनुभयो । उहाँले प्रदर्शनीमा राखिएका तस्बिरका सन्दर्भमा देशको राजनीतिक, सामाजिक, सांस्कृतिक सबै पक्ष उजागर भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासको एउटा चरण प्रारम्भमा कस्तो थियो र आज कस्तो भएको छ ? तुलना गर्ने अवसर आज मिलेको उहाँले प्रतिक्रिया दिनुभयो । यो फोटो प्रदर्शनी गर्ने विषयलाई सार्वजनिक पहुँचको विषय बनाएकोमा उहाँले गोरखापत्र परिवारलाई धन्यवाद दिनुभयो । “आज प्रदर्शनीमा राख्नुभएको जुन फोटोहरू छन्, यिनलाई एउटा सङ्ग्रहको रूपमा राखेको मैले देखेँ, यसलाई पुस्तकाकार दिएर सङ्गृहीत गर्दै जानुपर्छ ।”


गोरखापत्रको १२४ वर्षे लामो इतिहास र नेपाली पत्रकारिताको क्षेत्रमा विश्वसनीयताको पर्याय बनिरहेको उहाँले चर्चा गर्नुभयो । इतिहासको जिउँदो साक्षीको रूपमा गोरखापत्रले भूमिका खेलेकाले अरू अखबारसँग यसको तुलना हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । गोरखापत्रले जे जति आरोह अवरोह भोगेको छ, अन्य कुनै अखबारले भोगेको छैन, त्यसैले पनि यो अहिले पनि अरूभन्दा अब्बल छ, उहाँले भन्नुभयो । 

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थान मिडिया वा सञ्चार माध्यम मात्र नभएर इतिहास बोकेको महत्त्वपूर्ण संस्थान रहेको चर्चा गर्नुभयो । यसको जिम्मेवारी र दायित्व सरकार र जनताको पक्षमा काम गर्ने रहेको बताउँदै उहाँले संस्थानका प्रकाशनलाई प्रविधियुक्त बनाउने काम भइरहेको जानकारी दिनुभयो । 


उहाँले आजको दिनमा प्राविधिक, जनशक्ति एवम् स्रोत र साधनको पहुँचका हिसाबले डिजिटल युग सुहाउँदो स्मार्ट गोरखापत्र निर्माण, प्रविधिमैत्री कार्य वातावरण बनाउन तथा प्रविधिमैत्री संरचना निर्माणका लागि काम अघि बढेको बताउनुभयो ।

उहाँले समाजको चित्र र चरित्र बुझ्न राष्ट्रिय अभिलेखालय, त्रिभुवन विश्वविद्यालय लगायतसँग समन्वय गरेर गोरखापत्रका सामग्री जनताको पहुँचमा पुगाउने काम भइरहेको उल्लेख गर्नुभयो ।

तस्बिर अवलोकनका क्रममा कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले ऐतिहासिक एवम् पुराना तस्बिरबारे श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । 


सो अवसरमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपाल दैनिकका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र अनलाइनका प्रमुख समाचार संयोजक लक्की चौधरी लगायतको उपस्थिति थियो । 

संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभयो। पूर्व प्रन्या श्रेष्ठसँगै कानुन व्यवसायी कृष्णमान प्रधानको समेत उपस्थिति थियो ।

 

भिडियोमाः  केशब गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।