• १२ साउन २०८१, शनिबार

सडक र पूर्वाधारमा प्रदेश सरकार

भारी बोकेर दुई दिन हिँडेको बाटो अब छ घण्टामै वारपार

blog

प्रदेश सरकारको लगानीमा कालोपत्रे भइरहेका सडक। तस्बिर: राधा लुइँटेल

राधा लुइटेल

फिदिम, जेठ २९ गते। फालेलुङ-५ प्राङबुङका बमबहादुर लिम्बूले आँगनमै गाडी आउँला र सदरमुकाम हुँदै मधेससम्म पुगिएला भन्ने कल्पना गर्नुभएको थिएन। दशक अघिसम्म सदरमुकाम आएर फर्किन दुई दिन लाग्ने बाटो भएर आजकल उहाँ ६ घण्टामै आउजाउ गर्न थाल्नुभएको छ।

‘दिनभर पैदल हिँडेर सदरमुकाम फिदिम आएर ढाकरमा नुन, चामल र मट्टितेल जस्ता सामग्री बोकेर ल्याउनुपर्थ्यो, एकोहोरा मात्रै भारी भए दुई दिन र दोहोरो भए पुरै तीन दिन लाग्थ्यो। आजकल घरबाट हिँडेको ६ घण्टामा सौदा गरिबरी घर आइपुगिन्छ। यो परिवर्तन फिदिम, नाङ्गिन, प्राङबुङ सडकमा कालोपत्रे भएपछि आएको हो’, उहाँले भन्नुभयो।

सदरमुकाम फिदिम बाट नाङ्गिन, याङनाम सिदिन हुँदै सिक्किम र वेस्ट बङ्गालको सीमावर्ती फालौट जोड्ने फिदिम याङनाम फालौट मार्ग अन्तरगत फिदिमदेखि फालेलुङ ६ ओगेम्बा सम्मको ३५ किलोमिटर सडक गत वर्ष कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ६९ करोड २७ लाख रुपियाँ लागतमा कालोपत्रे गरेको थियो।

सोही सडकको लुदिनदेखि प्राङवुङ, भैँसे पोखरी हुँदै फालौटसम्म जोड्ने करिब २८ किलोमिटर सडक कालोपत्रेका लागि काम सुरु भइसकेको छ।

प्राङवुङ, मेमेङ र सिदिनलाई कुनैबेला जिल्लाको दुर्गम स्थानको सूचीमा राखिन्थ्यो, सडक र पूर्वाधार नबनेकै कारण यहाँ रहेका गाविस, हुलाक, स्कुल र खाद्यान्न डिपोमा टाढाका कर्मचारी सरुवा भएर जान डराउँथे।  ‘सडक सञ्जालले जोडेसँगै फालेलुङको विकासले कोल्टे फेरिसकेको छ’’, प्राङुवुङका पूर्व प्रधानपञ्च विष्णुराज थाम्सुहाङले भन्नुभयो। 


पाँचथरकै कुम्मायक ४ का ७७ वर्षीय टङ्कप्रसाद खतिवडालाई एक दशक अघिसम्म पाइताला फुट्ने गरी हिँडेर सदरमुकाम पुगेको अहिले जस्तो लाग्छ। उहाँसँग सानो छँदा यासोकबाट रानिगाँउको ओरालो हुँदै सिवा दोभानदेखि फिदिमसम्मको उकालोमा ढाकर बोकेर हिँड्दाका थुप्रै स्मरण ताजा छन्। ‘त्यो समय यस्तो बाटो थिएन बाटोमा पिउने पानी भेटिँदैनथ्यो, पैदल हिँड्ने बाटो साँघुरो थियो, लड्यो भने  ज्यानै जाने डर, यासोकदेखि सरखण्डे हुँदै फिदिम जोड्ने सडक कालोपत्रे गरिएपछि झनै सजिलो भयो, गाडीमा चढेका ४५ मिनेटमै यासोकदेखि फिदिम पुगिन थालेछ। देशमा केही चाहिँ भएकै हो’, उहाँले भन्नुभयो।

फिदिमदेखि कुम्मायक गाउँ“पालिका केन्द्र यासोक जोड्ने सरखण्डे यासोक सडक खण्डको ११.३१ किलोमिटर क्षेत्रमा कोशी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लगानी गरेर हालै कालोपत्रे गरेको हो। ६० करोड ९२ लाख रुपियाँको लागतमा भइरहेको कालोपत्रेको काम ८० प्रतिशत सकिएको छ भने बाँकी २० प्रतिशत असार मसान्त भित्रै सक्ने लक्ष रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो। 

यो सडक कालोपत्रे गरिएपछि खतिवडा जस्तै साविक रानिगाँउ, यासोक, स्याब्रुम्बा र माङजाबुङका नागरिकलाई सदरमुकाम आउजाउ गर्न सहज भएको छ। सडकले त्यस क्षेत्रका २० हजार भन्दा धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

फिदिम फालौट र सरखण्डे यासोक जस्तै प्रदेश सरकारको लगानीमा सदरमुकाम फिदिमदेखि सिवा दोभान लुम्फाबुङ हुँदै नवमीडाँडाडा जोड्ने १३.९५ किलोमिटर सडकखण्ड पनि कालोपत्रे गर्ने चरणमा पुगेको छ। सो सडक निर्माण र कालोपत्रेका लागि प्रदेश सरकारले ७४ करोड ८८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।

यो सडक कालोपत्रे गर्न केही ढिलाइ भएपनि ग्रावेल स्तरको काम पुरा भइसकेकाले लुम्फावुङ क्षेत्रका नागरिकलाई सदरमुकाम आउजाउ गर्न सजिलो भएको छ। ‘पहिले पाँच घण्टा पैदल हिँड्ने बाटो अहिले ४५ मिनेटमा छोटियो, सङ्घीयता कार्यान्वयनमा आएसँगै हामीले पनि विकासको अनुभूति गर्न पाएका छौँ’, लुम्फावुङका ज्येष्ठ नागरिक नरेन्द्र घिमिरे भन्नुहुन्छ।

भुटेको मकै, बाटोमा खाने चामल तरकारी ढाकरमा बोकेर फिदिम लुम्फावुङ ओहोर दोहोर गरेका  याद उहाँसँग ताजै छन्। 

यस्तै पाँचथर सदरमुकाम फिदिमदेखि रानिटार, गोरुवाले हुँदै इलामको पर्यटकीय स्थल सन्दकपुर जोड्ने ३२ मध्ये ७ किलोमिटर सडक कालोपत्रेको काम गत वर्ष नै सम्पन्न भएको छ। सोही सडकको नाम्दु खोलामा यतिबेला धमाधम पुल निर्माण हुँदैछ। सडकको ट्रयाक खोल्नदेखि कालोपत्रे गर्नसम्म लगानी गरेको प्रदेश सरकारले फिदिम १ र ६ नम्बर वडालाई जोड्ने नाम्दु खोलामा ३० मिटर लामो सडक बनाउन लागेको हो।

फिदिम ७ का रामप्रसाद बास्कोटा यो सडकको ७ किलोमिटर खण्ड कालोपत्रे गरिएपछि साविक रानिटार र लुङरुपाका नागरिकलाई सदरमुकाम आउजाउ गर्न सजिलो भएको बताउनुहुन्छ।  पूर्वाधार विकास कार्यालय पाँचथर मार्फत निर्माण भइरहेको उक्त सडक कालोपत्र गर्नका लागि  प्रदेश सरकारले २६ करोड ४५ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।

जसमध्ये ४ करोड २० लाख रुपियाँ लागतमा ७ किलोमिटर कालोपत्रे गरेको हो। पाँचथरमा भएका अधिकांश कालोपत्रेमा आसफाल्ट प्रविधि अपनाइएको छ।  आर्थिक वर्ष २०८०।०८१ मा मात्रै पाँचथरमा ४३ किलोमिटर पक्की सडक थपिएका छन्। यी सबै काम प्रदेश सरकारको लगानीमा  भएको हो।

यसअघि जिल्लामा मेची राजमार्गको राँकेदेखि कावेलीसम्म, मध्यपहाडी लोकमार्गको तमोर खोलादेखि जोरसाल,सोही लोकमार्गको गणेशचोकदेखि थर्पु र सामदिन सिवा नवमीडाँडा सडक खण्ड कालोपत्रे गरिएको छ।

जिल्लामा करिब ८ सय किलोमिटर सडक खनिए पनि कालोपत्रे भने २ सय किलोमिटरको हाराहारीमा मात्रै गरिएको हो। प्रदेश सरकारले जिल्लाका आठवटै स्थानीय तहका केन्द्रसम्म जोड्ने सबै सडक कालोपत्रे गर्ने योजना बनाएको कोशी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अशोक साह बताउनुहुन्छ।  पाँचथरमा हालसम्म फिदिम नगरपालिका र याङवरक गाउँपालिका केन्द्र मात्रै पक्की सडकको पहुँचमा छन्।

तुम्वेवा गाउँपालिका केन्द्र मौवा बजारलाई कालो पत्रे सडक सञ्जालमा जोड्ने उद्देश्यले  सप्तमी दशमी, मौवा, आङना लखुवा दोभान सडक खण्डमा १४.९१ किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता भएर काम भइरहेको छ। ४५ करोड ९० लाखको लागतमा भइरहेको उक्त सडक अन्तरगत लखुवा दोभानदेखि मौवा बजार जोड्ने १४.९१ किलोमिटर सडक एक वर्ष भित्रै पुरा गर्ने लक्ष्य प्रदेश सरकारको छ। फाल्गुनन्द, मिक्लाजुङ, फालेलुङ र हिलिहाङ जोड्ने सडक कालोपत्रे भएको छैन। 

ती मध्ये फाल्गुनन्द गाउँपालिका केन्द्र फाक्तेप र मिक्लाजुङ गाउँपालिका केन्द्रलाई जोड्ने राँके रवि भेडेटार र दमक चिसापानी रवि सडक खण्डमा सङ्घीय सरकारले काम अगाडि बढाएको छ। फालेलुङ गाउँपालिका केन्द्र थकेपुङ र हिलिहाङ गाउँपालिका केन्द्र पञ्चमी जोड्ने छोटो दुरीका सडकमा पनि कालोपत्रेका लागि अध्ययन भइरहेको मन्त्रालयका सचिव साह बताउनुहुन्छ।

प्रदेश सरकारले पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ जिल्लामा सडकतर्फ ४ र पुल तर्फका तीनवटा आयोजनालाई बहुवर्षे योजनाका रूपमा अगाडि बढाएको छ।

ती मध्ये सरखण्डे यासोक, सिवा दोभान नवमीडाँडा, सप्तमी दशमी आङना लखुवा दोभान, र बरडाँडा साब्लाखु, लिम्बुदिन,मेहेले कञ्चनजङ्घा सडक आयोजना हुन्।

ती सबै आयोजनामा प्रदेश सरकारले २ अर्ब ३९ करोड लगानी गरेको छ।  ती सडकमा पर्ने विभिन्न खोलामा तीन वटा मोटरेबल पुल हाल्ने योजना पनि प्रदेश सरकारको प्राथमिकतामा छ। प्रदेश सरकारले सप्तमी दशमी, मौवा आङना सडकमा पर्ने मिक्लाजुङ ३ र ५ को संगमस्थल नावा खोलामा ४५ मिटर, फिदिम,रानिटार,लुङरुपा,सन्दकपुर सडक खण्डमा पर्ने नाम्दु खोलामा ३० मिटर र पाँचथरको याङवरक २ ताप्लेजुङको सिदिङवा गाउँपालिका २ लाई जोड्ने इवा खोलामा ४५ मिटर लामो मोटरेवल पुल बनाँउदैछ।

तीनवटै खोलामा पुल हाल्न सरकारले १८ करोड रुपियाँ लगानी गरेको छ। एक वर्ष भित्रै तीनवटै पुलको काम सक्ने लक्ष्य पूर्वाधार विकास कार्यालय पाँचथरको छ। सबै खोलामा पुल बनेपछि वर्षामा पनि सहजै गाडी आउजाउ गर्न सक्छन्,समयमै काम सक्न ठेकेदारहरूलाई भनिरहेका छौँ।’ कार्यालय प्रमुख –इन्जिनियर रेड्डीले भन्नुभयो।