• ३० कात्तिक २०८२, आइतबार

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबिचको समन्वयात्मक बैठक सम्पन्न

blog

सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक । तस्बिर :सशस्त्र प्रहरी

काठमाडौँ, कात्तिक ३० गते । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक समापनपश्चात् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कात्तिक २९ गते शनिबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभएको थियो ।

सो बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा छिमेकी मुलुक भारतको सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक संजय सिंघलले नेतृत्व गर्नुभएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको उक्त समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबिच छलफल भएको थियो ।

२०८१ मङ्सिरमा काठमाडौँमा सम्पन्न भएको आठौँ समन्वयात्मक बैठकबाट पारित एजेण्डाका विषयमा समेत समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा छलफल भएको थियो ।

उक्त बैठकमा भाग लिन महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।