काठमाडौँ, जेठ २४ गते । यो वर्षको मनसुन नेपाल भित्रिन करिब एक साता मात्र बाँकी छ । मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो ज्यादा जाने सम्भावना रहेकाले सतर्कता बढी अपनाउनुपर्ने भएको छ ।
गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम आसपासका पहाड कमजोर बनेका छन् । त्यसैले पनि यो वर्षको मनसुनमा बढी पहिरो त्यता जाने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले औँल्याएको छ ।
मनसुनजन्य विपत् जोखिमको अवस्था कस्तो छ भन्ने जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल अधिकारीले जाजरकोट भूकम्पको विस्तृत अध्ययनपछि त्यस स्थानमा मनसुनमा पहिरो बढी जाने आकलन गरिएको बताउनुभयो । कर्णालीको सो क्षेत्रमा भूकम्पले पहाडमा पारेका तीन सय वटाभन्दा बढी चिराको अध्ययन गरी प्राधिकरणले तयार पारेको प्रतिवेदनका आधारमा सो क्षेत्रमा मनसुनमा पहिरोले जनधनमा क्षति पुर्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने ठहर गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “त्यस्ता चिरालाई माटोले पुरेर, प्लास्टिकले छोपेर कम्तीमा ३० वटा पहिरो सम्भावित चिरालाई जोगाउन प्रारम्भिक संरक्षण गरिएको छ ।” तर ठुलो वर्षा भएको खण्डमा पहिरो जाने जोखिम कायमै छ । पहिरो सम्भावित क्षेत्रमा बस्ती स्थानान्तरण गर्ने योजनाका साथ काम भइरहेको छ । त्यसका लागि अन्यत्र घर बनाउने जग्गासहित तीन लाख रुपियाँ सहयोगको अवधारणामा काम भइरहेको छ । जसले गर्दा पहिरोबाट जनधनको क्षति कम हुन सक्ने अनुमान उहाँले गर्नुभयो ।
त्यस्तै पूर्वको कोशी प्रदेशका पहाडमा पनि अघिल्ला वर्षका भूकम्प तथा जथाभाबी खनिएका बाटो, बस्ती र भौतिक पूर्वाधारले पहिरोको जोखिम उच्च बनाएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार विपत् प्रभावित दोलखा, ओखलढुङ्गा, म्याग्दी, रसुवा, सिन्धुपाल्चोक, धादिङ, डडेलधुरा तथा ताप्लेजुङ जिल्लाका १४ स्थानको स्थलगत भौगर्भिक अध्ययन गरेर ११ स्थानको प्रतिवेदन तयार पारिएको छ ।
प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले पहिरोको जोखिम वर्षाको पानी व्यवस्थापनसँग जोडिएको जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्ने प्रवृत्ति पछिल्लो समय परिवर्तन हुँदै गएको छ । उहाँले भन्नुभयो, “विशेष गरी सुक्खा तथा उजाड पहाडी भूभागमा भिरालो जमिनले थेग्नै नसक्ने गरी वर्षा हुन्छ, त्यसको सही व्यवस्थापन नहुँदा पहिरो गएर गाउँबस्ती नै बगाउने गर्छ ।” भूकम्पले भौगर्भिक बनोटलाई त्यसै पनि कमजोर बनाएको छ ।
त्यसमाथि बढ्दो विकास अत्याचारले नेपालमा पहिरोका घटना बढ्दै गएको शर्माले बताउनुभयो । प्राधिकरणका अनुसार यस वर्षको मनसुनजन्य विपत्ले १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान छ । त्यसमध्ये कर्णालीमा पहिरोको जोखिममा पाँच हजार घरधुरी रहेको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । प्रभावितमध्ये पनि दुई हजार पाँच सय बढीलाई तत्काल राहत तथा उद्धार गर्नुपर्ने हुन सक्ने अनुमान उहाँले गर्नुभयो ।
त्यस्तै तराई भूभागमा डुबान र मध्यपहाडी भेगमा बाढीको उच्च सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेकाले पनि सोही अनुसार प्रतिकार्य योजना तयार पारेर जोखिम कम गर्न प्राधिकरणले काम थालेको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                