• १३ साउन २०८१, आइतबार

एलपी ग्याँस

मासिक एक अर्ब घाटा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । मुलुकमा पछिल्लो पाँच वर्षको अवधिमा झन्डै डेढ खर्ब रुपियाँ बराबरको खाना पकाउने (एलपी) ग्यास आयात भएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत प्रयोग बढ्दै गएकाले आयात परिमाण बर्सेनि बढ्दै गएको हो । 

नेपाल आयल निगमका अनुसार आव २०७३/७४ देखि २०७७/७८ सम्म एक खर्ब ४० अर्ब ९६ करोड एक लाख १० हजार रुपियाँ बराबरको २० लाख ५० हजार २५८ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ । 

१५ प्रतिशतले बढ्दै खपत

मुलुकमा खपत हुने इन्धनमध्ये ७० प्रतिशत परम्परागत (दाउरा, गुइँठा, बायोग्यास) ऊर्जा र ३० प्रतिशत ग्यास, कोइला र बिजुलीबाट हुने गरेको छ । निगमका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म तीन लाख ७२ हजार ८१३ मेट्रिक टन ग्यास आयात भएको छ । 

निगमका अनुसार आव २०७७/७८ मा ३४ अर्ब २४ करोड ६० लाख ५८ हजार रुपियाँ बराबरको चार लाख ८१ हजार २५८ मेट्रिक टन, २०७६/७७ मा २८ अर्ब ६२ करोड ७६ लाख ५१ हजार रुपियाँको चार लाख ४८ हजार ५४९ मेट्रिक टन र २०७५/७६ मा ३३ अर्ब ९३ करोड ३९ लाख छ हजार रुपियाँको चार लाख २९ हजार ५०२ मेट्रिक टन एलपी ग्यास आयात भएको यियो । 

यस्तै आव २०७४/७५ मा २५ अर्ब ५७ करोड ६३ लाख ५४ हजार रुपियाँको तीन लाख ७६ हजार ५१२ मेट्रिक टन र २०७३/७४ मा १९ अर्ब ४२ करोड १६ लाख ४९ हजार रुपियाँको तीन लाख १४ हजार ४३७ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमको तथ्याङ्क छ । 

बढ्दो खपतसँगै प्रत्येक वर्ष ग्यासको आयात बढ्दै गएको देखिन्छ । निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बजारमा ग्यासको खपत बढेसँगै बर्सेनि आयात बढ्दै गएको बताउनुभयो । “वार्षिक १५ प्रतिशतले ग्यासको खपत बढ्दै गएको छ । सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएकाले यसको आयात बढ्दै गएको हो,” उहाँले भन्नुभयो । 

बजारमा एक लाख २५ हजार ग्यास सिलिन्डर मासिक रूपमा खपत हुने गर्छ । निगमलाई अहिले प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा छ । मासिक एक अर्ब रुपियाँ घाटा ग्यासमा रहेको निगमको भनाइ छ ।

बिजुली सस्तो

मुलुकमा पर्याप्त बिजुली उत्पादन गर्नसके ग्यासको आयात घटाउन सक्ने सम्भावना भए पनि बिजुली उत्पादन नहुँदा ग्यासको खपत बढ्दै गएको विज्ञको भनाइ छ । बिजुलीको प्रयोग बढाउँदै गएपछि ग्यास आयात कम गर्न सकिने नायब कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । 

बिजुली प्रयोगबाट ग्यासको आयात कम गर्न सकिने सम्भावना धेरै छ । बिजुलीको प्रयोग कम भएकाले पनि ग्यासको खपत बढी हुने गरेको हो । सरकारले इन्डक्सन चुलो प्रयोग गरेर एलपी ग्यासको खपत घटाउने भने पनि यो देखिने गरी सफल हुनसकेको छैन । 

ऊर्जाविज्ञ डा. अमृतमान नकर्मी बिजुलीको प्रयोग गरेर एलपी ग्यासको आयात कम गर्न सकिने बताउनुहुन्छ । “ग्यासभन्दा बिजुलीमा खाना पकाउँदा ५० प्रतिशत सस्तो पर्छ । बिजुली उत्पादन बढाएर विद्युतीय चुलोको प्रयोग बढाउन सके एलपी ग्यास आयात कम गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।