गोविन्द शर्मा
बाँके, कात्तिक १४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा भएका अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन जरुरी भएको बताउनुभएको छ ।
नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित कार्यालयमा शुक्रबार पार्टीका अगुवा कार्यकर्तासँगको छलफलमा उहाँले सो कुरा बताउनुभयो । एमाले् स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री कँडेलले आन्दोलनको मौका छोपेर, ब्यक्तिगत घर, सरकारी तथा सार्वजनिक सङ्घसंस्थाका भवनमा आगजनी, लुटपाट र तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याएर दण्डहिनताको अन्त्य गर्न जरुरी भएको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले भन्नुभयो, “ब्यक्तिगत र सार्वजनिक भवनमा क्ष्ति गर्नेलाई यो वा त्यो बहानामा कारवाहीको दायरामा नल्याउने हो भने भोलिका दिनमा समेत यसखालका घटना दोहोरिन सक्छ ।
उहाँले अहिले मुलुकमा संविधान र सार्वभौमिकताको रक्षा गर्नु सबैभन्दा बढी आवश्यकता भएको भन्दै एमालेको सम्पूर्ण पार्टी पङ्ति एकमना एकताका साथ यो अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
यसैबिच भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि भएको क्षतिको छानविनका लागि गठित आयोगलाई एमाले बाँकेले सरकारी कार्यालयमा आगजनी, लुटपाट र तोडफोड गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्मा क्षतिग्रस्त एमाले बाँकेको जिल्ला पार्टी कार्यालयको स्थलगत निरीक्षणमा आएको समयमा एमालेका स्थायी कमिटी सदस्य कँडेल, केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, लेखा आयोगका सदस्य विजया धिताल, जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष तथा लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री लगायतले दण्डहिनताको अन्त्यका लागि अपराधिक कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन जरुरी भएको बताउनुभयो ।
आयोगका सदस्य शर्माले अनूगमनका क्रममा प्रमुख राजनीतिक दलबाट जिम्मेवार प्रस्तुति पाएको भन्दै आयोगले निष्पक्ष भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                