गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा प्रविधिको विकासमार्फत देशलाई आर्थिक समृद्वितर्फ लैजान सकिने बताउनुभएको छ । राजधानीको सिनामङ्गलमा रहेको एभियसन म्युजियममा सोमबारदेखि सुरु भएको विज्ञान प्रदर्शनी उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान नै आजको आवश्यकता रहेकाले प्रविधिको प्रयोग गर्दै व्यवसायमा आधारित खोज अनुसन्धानमार्फत विकासको फड्को मार्न सकिने कुरामा जोड दिनुभयो ।
वैज्ञानिक आविष्कारको क्षेत्रमा नेपाललाई विकास गर्न विद्यार्थीलाई विज्ञान र प्रविधिप्रति चासो बढाउन आवश्यक रहेको जनाउनुहुँदै उहाँले भन्नुभयो, “आजको युग विज्ञान, प्रविधि र ऊर्जाको युग हो । यो बिना संसार अगाडि बढ्न गाह्रो छ ।”
उहाँले संसारमा सबैभन्दा मूल्यवान ऊर्जा युरोनियम भएको बताउँदै नेपालको मुस्ताङ, मकवानपुरमा रहेको युरोनियमका खानीको वैज्ञानिक अध्ययन अनुुसन्धान गरेर देशले ऊर्जा क्षेत्रमा चमत्कार हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति पुनले दक्ष जनशक्ति, प्रविधि, पुँजीको प्रयोगमार्फत खनिजजन्य वस्तुको अध्ययन तथा अन्वेषणले नेपालले विज्ञानको क्षेत्रमा छोटो समयमै चमत्कार गर्न सक्ने सम्भावना रहेको पनि बताउनुुभयो ।
उहाँले आधुनिक उपकरणको प्रयोग, जैविक प्रविधिको संरक्षण, विकास एवं प्रशोधन, वैकल्पिक ऊर्जा स्रोतको विकास नै आर्थिक विकास र समृद्विको मेरुदण्ड भएको बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्र्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले नागरिक उड्डयन प्राधिकरण कोष र वेद उप्रेती कोषको संयुक्त प्रयासले नेपालमा हवाई स्कुल स्थापनाको आवश्यकता र सम्भावनालाई समेत बल पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वमा ३१ हजार (म्युजियम बनाएजस्तै) ठूला जहाज र एक हजार ३०० ठूला विमानस्थल रहेका छन् । ती सबैलाई सञ्चालन गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । विद्यार्थीलाई विज्ञान, प्रविधि र उड्डयन क्षेत्रतर्फ आकर्षित गर्न र मागअनुसार इन्जिनियर, क्याप्टेनलगायतका जनशक्ति उत्पादन गर्न प्रदर्शनी र म्युजियम सञ्चालनले सहयोग पु¥याउनेछ ।”
हवाई र चिकित्सा क्षेत्रमा नवीनतम उच्च प्रविधिको प्रयोग पहिले हुने भएकाले अन्य क्षेत्रको भन्दा १० गुणा बढी विज्ञान र प्रविधि यसै क्षेत्रमा प्रयोग हुँदै आएकोसमेत उहाँको भनाइ छ ।
म्युजियमका सञ्चालक क्याप्टेन वेद उप्रेतीले विद्यार्थी तथा अभिभावकलाई विज्ञान र गणितप्रति रुचि बढाउनका यो प्रदर्शनी कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीमा अध्ययन अवलोकनका लागि विज्ञानका १३ वटा स्टल राखिएको जानकारी दिनुहुँदै उहाँले न्युटनको नियम, गुरुत्वाकर्षण र हवाई इन्जिनियरिङ तथा हवाई प्रविधिको अवलोकनसँंगै विद्यार्थीलाई विज्ञानप्रति आकर्षित गर्न सहज हुने बताउनुभयो ।
प्रदर्शनीमा रोचक तथा चर्चित विषयवस्तुसहित हवाई उडानक्रममा आफैँले खिचेका महत्त्वपूर्ण तस्बिरसमेत राखिएको उहाँको भनाइ छ । प्याब्सन तथा एनप्याब्सन क्षेत्रबाट समेत जारी प्रदर्शनीप्रति ऐक्यबद्वता जनाउँदै विज्ञान प्रविधिबारे प्रत्यक्ष ज्ञान हासिल गराउन सम्बद्व विद्यालयका विद्यार्थीलाई अवलोकनका लागि प्रोत्साहन गरिने भएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                