नवीनराज कुइँकेल
लमजुङ, कात्तिक १४ गते । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरस्थित पाण्डेको घरमा विहीबार राति करिब १२ बजेको समयमा ढुङ्गा प्रहार भएको हो ।
घटनामा कुनै मानवीय क्षति नभए पनि घरको झ्यालमा क्षति पुगेको छ । घरमा अध्यक्ष पाण्डेका ८२ बर्षीया हजुरआमा, आमा र भाइ–बुहारी लगायत बस्दै आउनुभएको छ । आमा सुतेको कोठामा बढी क्षति भएको र उहाँ अहिले पनि मानसिक रुपले चिन्तित बनेको अध्यक्ष पाण्डेको आमा शान्ता पाण्डेले बताउनुभयो ।
सो घटनाको नेपाल पत्रकार महासंघ लमजुङ शाखा, प्रेस चौतारी नेपालले भर्त्सना गरेका छन् । नेपाली श्रमजीवी तथा ब्यावसायिक पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षको घरमा भएको यो आक्रमण अत्यन्त निन्दनीय रहेको प्रेस चौतारी नेपालले जनाएको छ ।
केन्द्रीय महासचिव हिरामान लामाले विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ । गत भदौ २४ गतेदेखि नै अध्यक्ष पाण्डेविरुद्ध सामाजिक सञ्जालमा उत्तेजनात्मक स्टाटसहरु लेखी आक्रमणको धम्की दिइएको पाण्डेले बताउनुभयो । यो आक्रमण योजनाबद्ध ढंगबाट गरिएको हुनसक्ने प्रेस चौतारी नेपालले विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ लमजुङका सचिव कृष्ण आलेले विज्ञप्ति प्रकाशित गर्दै घटनाको विरोध गर्नुभएको छ । नेपाली पत्रकारको हकहित र अधिकारका लागि संस्थागत नेतृत्व सम्हाल्नु भएका पत्रकार पाण्डेप्रति के–कस्तो मनासाय राखेर उहाँको आमा र हजुरआमा बस्दै आउनुभएको घरमा आक्रमण गरिएको हो, घटनाको गहिराइमा पुगेर अनुसन्धान गरी दोषी पत्ता लगाइ कारवाही गर्न माग गरिएको छ ।
रातको समयमा लुकिछिपी आक्रमण गर्ने, तर्साउन खोज्नेजस्ता गलत गतिविधी गर्ने मनासायबाट पत्रकारिताको निष्पक्षता, सत्यता र स्वतन्त्रता नडगमगाउने पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                