• ६ असार २०८१, बिहिबार

किवी खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी

blog

किवी खेती । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, जेठ १९ गते । शैलुङ गाउँपालिका ३ बिरौटाका हरि बहादुर कार्की किवी खेती सुरु गर्नुभएको पाँच वर्ष भयो ।  काठमाडौँमा होटल रेस्टुरेन्ट लगायत अरू व्यवसाय गर्दै आउनुभएका उहाँ अरू जिल्लामा किवी खेती गरेको देखेपछि उहाँलाई किवी खेती गर्न तर्फ आकर्षण बढेको थियो । उहाँको योजनालाई भाइ सोवीत कार्कीले साथ दिनुभयो । भाईले आफू जन्मेको गाउँमा रहेको बाझो जग्गामा खेती गर्न मन गरेपछि उहाँको योजनालाई थप टेवा पुगेको थियो ।

कार्की दाजुभाइले पाँच वर्ष अगाडि गाउँ फर्केर किवी खेती सुरु गर्नुभएको थियो । सुरुमा चार सय किवी बिरुवा रोपेर व्यावसायिक खेती सुरु गर्नुभएका कार्कीको फार्ममा अहिले करिब सात सय किवीको बोट रहेको छ ।

किवी खेतीका करिब ८५ लाख लगानी गरिएको फार्म सञ्चालक कार्कीले बताउनुभयो । सुरु सुरुमा परिवारले किवी खेती छोड्न दबाब दिएको उहाँको भनाइ छ । लगानी धेरै भए पनि सुरुका वर्षहरूमा आम्दानी नआएपछि परिवारले किवी खेती नगर्न र थप विस्तार नगर्न सल्लाह दिएको कार्की बताउनुहुन्छ ।

गतवर्ष कार्कीले करिब दुई हजार दुई सय केजी किवी बिक्री गर्नुभएको थियो । यो वर्ष भने करिब चार हजार केजी किवी बिक्री गर्ने लक्ष्य रहेको उहाँले सुनाउनभयो ।

व्यावसायिक रूपमा किवी खेती गर्नुभएका उहाँ आफैँ काठमाडौँ लगेर किवी बेच्नुहुन्छ । गत वर्षभन्दा दोब्बर आम्दानी गर्ने योजना रहेको बताउनुहुँदै उहाँले यो वर्ष २० लाख आम्दानी गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।

किवीको उत्पादन राम्रो भएता पनि बजारीकरण र ब्रान्डिङ गरिनुपर्ने उहाँले बताउनुभयो । काठमाडौँमा किवी बिक्री गर्दा भुक्तानी समयमा नहुने उहाँको भनाइ छ  । आफूले किवी खेती गरेको स्थानमा हावापानी समेत राम्रो भएकाले यहाँको किवी स्वादिष्ट रहेकाले बजारमा मन पराउने उहाँको भनाइ छ ।

दोलखा र रामेछाप कार्यक्षेत्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले उहाँको किवी खेतीमा अनुदान सहयोग उपलब्ध गराएको छ । कार्यालयले कार्कीको किवी खेतीका लागि बर्सेनि ५० प्रतिशत अनुदानमा किवीको थाङ्ग्रा उपलब्ध गराउँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका एकाइ प्रमुख थिरलाल गैरेले बताउनुभयो ।

किवी खेतीको सिँचाइमा लागि ८५ प्रतिशत अनुदानमा कार्यालयले थोपा सिँचाइ योजना निमार्ण गरेको उहाँले बताउनुभयो । यो वर्ष ५० प्रतिशत अनुदानमा मिनिलिटर समेत उपलब्ध गराइएको उहाँको भनाइ छ । व्यावसायिक क्षेत्रमा लाग्ने किसानको पहिचान गरी कृषि क्षेत्रमा प्रोत्साहन गर्न कार्यालयले विभिन्न कार्यक्रममार्फत सहयोग उपलब्ध गराउँदै आएको एकाइ प्रमुख गैरेको भनाइ छ ।

आगामी वर्षका कार्यक्रममा पनि व्यावसायिक कृषि गर्दै आउनुभएका कृषकलाई प्राथमिकताका साथ अनुदान सहयोग लगायतका कार्यक्रम उपलब्ध गराउने योजना रहेको परियोजनाले जनाएको छ । 

शैलुङ क्षेत्र आलु र किवीका लागि दोलखा मुख्य क्षेत्र हो । काठमाडौँबाट सिन्धुपाल्चोक मुडे हुँदै शैलुङ क्षेत्र पुगिन्छ । मुख्य आम्दानीको स्रोत कृषि रहेको यो क्षेत्रमा सडक र बजारीकरणको समस्या समाधान गर्ने हो भने कृषि खेतीबाट करौडौं आम्दानी गर्न सकिन्छ । तीनै तहका सरकार र सम्बन्धित निकायले सडक र बजारको समस्या समाधान गर्न उचित पहल गन्नुपर्ने किसानहरूले माग गरेका छन् ।