• २२ असार २०८१, शनिबार

किसानलाई मिनिटिलर प्रदान

blog

सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको हाते ट्रयाक्टर ।

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १८ गते । सुनकोशी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा दुई सय १० जना कृषकलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ । कृषिमा यान्त्रीकरण गर्दै कृषिमा सुधार ल्याउने उद्देश्यले उक्त गाउँपालिकाका कृषकहरूलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार कृषकहरूका लागि सहुलियतमा दुई सय १० कृषकहरूलाई मिनिटिलर उपलब्ध गराएको हो । सो पालिकाका सात वटै वडाका कृषकलाई कुल २८ हजार ८ सय रुपियाँमा मिनिटिलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४ सय उपलब्ध गरेको थियो । कृषकहरूले पनि ५० प्रतिशतको १४ हजार ४ सय रुपियाँ गाउँपालिकाको खातामा जम्मा गराएपछि कृषकहरूलाई मिनिटिलर उपलब्ध गराएको थियो । 

सुनकोशी गापा–१ कृषक प्रेमप्रसाद न्यौपानेले आफूहरूले सोही ट्याक्टर बजारमा किन्न जाँदा त्यसको मूल्य न्यूनतम ४० देखि ५० हजारसम्म खरिद गर्नु पर्नेमा गाउँपालिकासँगको सहकार्यमा १४ हजार २ सयमा नै पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । 

गाउँपालिकाले ७ हर्षपावरको मिनिटिलर कृषकहरूलाई उपलब्ध गराएको छ । सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिका मध्ये ठुलो परिणाम र सस्तोमा मिनी टेलर उपलब्ध गराउने सुनकोशी गाउँपालिका पहिलो भएको छ । 

आगामी दिनहरूमा पनि कृषकलाई ट्याक्टर लगायतका विभिन्न उपकरण उपलब्ध गराउने सो गापाले जनाएको छ । यो वर्ष गाउँपालिकाले पहिलो प्राथामीकतामा समूहहरूको लागि मात्रै मिनिटिलर उपलब्ध गराउने भनेपनि समूह बाहिरबाट पनि मिनिटिलरको माग आएकाले आवेदन दिने सबैलाई मिनी टेलर उपलब्ध गराइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनुभयो ।