• २४ पुस २०८१, बुधबार

कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने : कृषि मन्त्रालय

blog

कृषिमन्त्री ज्वालाकुमारी साह । फाइल तस्बिर

काठमाडौँ, जेठ १७ गते । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा मन्त्रालयका सचिवद्वय डा.दीपककुमार खराल र डा.राजेन्द्रप्रसाद मिश्र, नेपाल बिमा प्राधिकरण, नेपाल बिमक सङ्घसहितको बैठकले पशुपन्क्षी तथा जडीबुटी बिमाको अनुदान बक्यौता रकम भुक्तानी तथा वि.सं.२०८० चैत १ गतेदेखि स्थगन भएको बिमासम्बन्धी छलफल भएको थियो ।

छलफलमा बिमा कम्पनीले जारी गरेको कृषि तथा पशुपंक्षी बिमा अन्तर्गतको बिमालेखवापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बिमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिनुभयो । बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ । बिमकले कृषि तथा पशुपंक्षी बिमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ । रासस