• ९ असार २०८१, आइतबार

महिला राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

blog

राष्ट्रिय महिला भेला २०८१ लाई सम्बोधन गर्नु हुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, जेठ १६ गते। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) ले आयोजना बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।

उहाँले भन्नुभयो, “जो नेतृत्वमा रहेका महिलाले समग्र राष्ट्रिय मुद्दामा राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ। मौलिक हकको व्यवहारिक कार्यान्वयनबाट आर्थिक समृद्धि र विकास हासिल गर्नतर्फ मुलुक अगाडि बढाउने दायित्व हाम्रो दायित्व हाम्रो काँधमा छ।”

उहाँले राष्ट्रिय भेलाले महिला नेतासँग साक्षात्कार गर्न अवसर प्राप्त भएको भन्नुहुँदै सामाजिक न्याय, समानता, शान्ति र समृद्धिका लागि थप प्रेरणा मिल्ने भनाइ राख्नुभयो।

उहाँले राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिताको मुद्दा ऐतिहासिक उपलब्धि भएको बताउनुहुँदै अधिकार कार्यान्वयनतर्फ अझै चुनौती रहेको बताउनुभयो।

उहाँले हिंसाको मूल कारण पुरुष नभई हिंसामा आधारित सामाजिक व्यवस्था रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “सांस्कृतिक, सामाजिक, औद्योगिक विकास गर्न स्वावलम्बन र आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ। जलविद्युतको स्वदेशी खपत, खेतीयोग्य जमिन बाँझो नरदा स्वदेशमै रोजगारी र उद्यमशीलताको विकास गर्ने कुराले सार्थकता पाउन सक्ला।” खाद्य सुरक्षा सुदृढ बनाउन, रैथाने बाली प्रवर्द्धन गर्न, प्रभावकारी बजारीकरण र सहजीकरण गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ।

उहाँले महिला आधा आकाश मात्र नभई पुरै आकाश भएको भन्नुहुँदै आजको बालबालिका भोलिको भविष्य भएकाले नैतिकवान, अनुशासित, सुसंस्कृतियुक्त बालबालिका निर्माण गर्नु पनि महिला नेतृत्वको दायित्व भएको बताउनुभयो। यससँगै रोजगारी सिर्जना, प्राकृतिक सम्पदाको संरक्षण एवम् दिगो विकासका लागि योजनासहित अघि बढ्न उहाँले महिला नेतृत्वलाई सुझाव दिनुभयो।

कार्यक्रममा एमाले नेतृ विद्या भट्टराईले महिला आन्दोलन, उपलब्धि र अबको गन्तव्य विषय कार्यपत्र प्रस्तुत गर्नुभयो।

उहाँले आदिम समाज मातृप्रधान र मातृसत्तात्मक रहेको तर निजी सम्पत्तिको उदयसँगै महिला परिवारभित्रै शोषणमा परेको बताउनुभयो।

उहाँले विश्व महिला आन्दोलन हुँदै नेपालमा २००६ सालमा जारी कम्युनिष्ट घोषणापत्रको मार्गदर्शनमा महिलामाथि राजनीतिक, सामाजिक र आर्थिक विभेद रहेको तथा महिला मुक्तिका लागि यी विभेद अन्त्य गर्नुपर्ने विषय उल्लेख गरिएको बताउनुभयो।

२००८ सालमा अखिल नेपाल महिला सङ्घ स्थापना भएको भन्नुहुँदै उहाँले नेकपा स्थापना कालदेखि नै लैङ्गिक प्रश्न संवेदनशील रूपमा उठ्ने गरेको भनाइ राख्नुभयो।

उहाँले राष्ट्रिय महिला भेलाले जेठ १६ लाई युग परिवर्तनको सुरुवातको सङ्कल्पको रूपमा लिएको बताउनुभयो।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।