• २२ मङ्सिर २०८२, सोमबार

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह

blog

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २२ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताउनुभएको छ । 

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिको आज ज्ञापनपत्र बुझ्दै संयोजक दाहालले सो कुरा बताउनुभएको हो ।

पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरीलगायत स्थानबाट भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको उहाँले उल्लेख बताउनुभयो । 

साथै, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिस्ट पार्टी समक्ष आग्रह गरेको हो ।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

 दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको छ ।रासस