• २२ मङ्सिर २०८२, सोमबार

महावै गाउँपालिकाले असुल गर्नुपर्ने ७० लाख

blog

महावै गाउँपालिकाको कार्यालय कालीकोट । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, मङ्सिर २१ गते । कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा ७० लाख नजिक रकम होचुवाको तालमा वितरण गरेको पाइएको छ । गाउँपालिकाले विभिन्न शीर्षकमा भुक्तानी गरेको रकममध्ये ६९ लाख ८१ हजार ५०४ रुपियाँ असुल पर गर्नुपर्ने छ । 

महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०∕२०८१ को लेखा परिक्षण प्रतिवेदनमा उक्त रकम असुलउपर गर्न भनेको छ । असुलका लागि गाउँपालिका अध्यक्ष खेमबहादुरसिहंबाट एक लाख, नमराज मल्लबाट एक लाख, दीपक खत्रीबाट ५० हजार र चालक केदार सिहंबाट ३० हजार ९५० इन्धनको नाममा कुनै प्रमाण नराखी भुक्तानी भएकाले असुलउपर गर्न महालेखाले व्यक्तिको नाम किटान गरेको छ । गाउँपालिकाले विभिन्न योजनाको नाममा पनि प्रमाण बिना भुक्तानी गरेको छ । प्रमाण बिनाको दुई करोड ४३ लाख ६५ हजार २६१ रुपियाँ अनियमित भएको महालेखाले उल्लेख गरेको छ । 

गाउँपालिकाले सुर्खेतको स्टे भ्याली प्रालि सुर्खेतको बिजक प्रयोग गरी कमलबहादुर सिहंको नाममा पाँच लाख भुक्तानी गरेको छ । उक्त रकम असुलउपर गर्न भनिएको छ । आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को ५ अनुसार सरकारी रकम खर्च गर्दा पुष्टि हुने गरी बिल भरपाई तथा आवश्यक सम्झौता लगायत कागजपत्र राख्नु पर्ने हुन्छ । तर गाउँपालिकाले हचुवाको भरमा व्यक्तिका नाममा भुक्तानी दिँदै आएको छ । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरूले गाउँपालिका देखि मान्मसम्म आएको ९४ हजारसम्म भ्रमण खर्च बुझेका छन । जहाँ महावैबाट मान्म पुग्न सिंधै गाडीको पहुँच छैन, सेरावाडादेखि सार्वजनिक यातायात चढेमा पाँच सय बढीमा भाडा लाग्छ, गाडी रिजर्व गरेमा सात हजार सम्म हो । तर ९४ हजार सम्म महावै मान्मको भ्रमण खर्च बुझिलिएको महालेखाले औलाएको छ । विभिन्न व्यक्तिले मान्म सदरमुकाम आएको खर्च तीन लाख पाँच हजार ५७० रुपियाँ तिनै व्यक्तिबाट असुलउपर गर्न भनिएको छ । 

दुई पाङ्ग्रे र चार पाङ्ग गाडीमा इन्धन हालेको २२ लाख ८३ हजार २९१ रुपियाँ खर्च छ भने सार्वजनिक गाडी भाडामा लिएर चढेको यातायात खर्च शीर्षकमा ३६ लाख ८३ हजार ५० रुपियाँ खर्च र गाडी मर्मतमा ९ लाख ६५ हजार ९२२ रुपियाँ खर्च गरिएको छ । विविध शीर्षकमा ५५ लाख ८३ हजार ४९८ रुपियाँ खर्च गरिएको छ । 

एक आर्थिक वर्षमा गाडी, यातायात मर्मत तथा विविधमा मात्र एक करोड, २५ लाख १५ हजार ७६१ रुपियाँ खर्च फजुलमा गरेको छ । गाउँपालिकाको हाल सम्मको जम्मा बेरुजु २३ करोड ४९ लाख १५ हजार ४७८ रुपियाँ छ ।