• ४ जेठ २०८१, शुक्रबार

न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता

blog

बागमती प्रदेश ब्युरो

हेटौँडा, वैशाख १२ गते । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरमा न्यून सङ्ख्यामा उम्मेदवारको मनोनयन–पत्र दर्ता भएको छ । १० वटा पालिका रहेका मकवानपुरमा दुईवटा पालिकामा उम्मेदवारी मनोनयन–पत्र दर्ता नै नभएको निर्वाचन अधिकृतले जनाएका छन् । मकवानपुरका बागमती र बकैया गाउँपालिकामा वडा सदस्यदेखि पालिका अध्यक्षसम्म कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । बागमती गाउँपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद उपाध्यायले दलले आफूहरू तयारीमा रहेको र सोमबार मात्र उम्मेदवारको मनोनयन–पत्र दर्ता गर्ने बताएको जानकारी दिनुभयो ।

थाहा नगरपालिकामा नगरप्रमुखमा एक जना र दुईवटा वडाको वडाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुखमा नेपाली काँग्रेस (बीपी)बाट वीरबहादुर भोम्जनको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिनुभयो । वडा नम्बर ५ र ९ को वडाध्यक्षमा उम्मेदवारी परेको छ । यस्तै राक्सिराङ गाउँपालिकाको अध्यक्षमा मङ्गोल नेसनल अर्गनाइजेसनका युनिस मुक्तानको मात्र अध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । 

मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा मङ्गोल नेसनल अर्गनाइजेसनका युवराज लामा र स्वतन्त्रबाट कृष्णप्रसाद कँडेलको, भीमफेदी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाको उम्मेदवारी परेको छ । दुवै जना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको थियो । यसैगरी इन्द्रसरोवर गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्षमा देवकुमार लामा, कैलाश गाउँपालिकामा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीबाट सन्तमाया बुढाथोकीको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनहरी गाउँपालिकामा अध्यक्षमा एमालेबाट एकराज उप्रेती र राप्रपाबाट चन्द्रबहादुर पौडेल तथा उपाध्यक्षमा एमालेकी सुजिता थिङको उम्मेदवारी दर्ता भएको छ ।

रामेछापमा मनोनयन दर्ता

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछाप जिल्लाको मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा गरी स्वतन्त्र रूपमा दुई जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताका लागि तोकेको पहिलो दिन आइतबार मन्थली नगरपालिका प्रमुखमा जिल्लामा भ्रष्टाचारविरुद्धको अभियान्ताको परिचय बनाएका यमबहादुर थापाले स्वतन्त्र रूपमा पालिका प्रमुखमा र शारदा बुढाथोकीले स्वतन्त्रबाट उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएको छ । 

यस्तै खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । खाँडादेवी गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव लम्सालका अनुसार अहिलेसम्म मङ्गोल नेसनल अर्गनाइजेसनबाट अध्यक्षमा यमबहादुर मोक्तान र उपाध्यक्ष दीलमाया मोक्तानले तथा पालिका अध्यक्ष पदका लागि नेकपा एमालेबाट ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै सुनापति गाउँपालिकामा अध्यक्षमा एमालेबाट ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतमको उम्मेदवारी दर्ता भएको छ । 

गोकुलगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षका लागि स्वतन्त्रबाट एक जनाले मनोनयन दर्ता गराएको बताइएको छ । 

राप्रपा र स्वतन्त्रबाट उम्मेदवारी  

सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार १२ स्थानीय तहमा नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएको छ भने राप्रपाबाहेकका कुनै दलले उम्मेदवार मनोनयन दर्ता गराएका छैनन् । 

नेपाली काँगे्रस, नेकपा माओवादी केन्द्र र अन्य दलले अझै उम्मेदवार तय गर्न सकेका छैनन् । एमालेले भोटेकोसी गाउँपालिकामा अमृत खड्का, उपाध्यक्षमा सुन्तली लामा श्रेष्ठ, बाह्रबिसे नगरपालिका प्रमुखमा निमफूञ्जो शेर्पा, उपप्रमुखमा सुशीला पाख्रिन, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा मेघनाथ पौडेल, उपाध्यक्षमा सविता श्रेष्ठ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्षमा सूर्यबहादुर लामा, उपाध्यक्षमा कञ्चन लामालाई उम्मेदवार छनोट गरेको छ । सुनकोसी गाउँपालिका अध्यक्षमा टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्षमा मञ्जु भण्डारी, बलेफी गाउँपालिका अध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा चन्द्रावती थापालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । उता, काँगे्रसले बाह्रबिसे  नगरपालिकामा बालकृष्ण बस्नेत प्रमुखमा र मन्जु तामाङलाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले लिसङ्खुपाखर गाउँपालिकामा राजु लामा अध्यक्षमा, इन्द्रावती गाउँपालिकामा अध्यक्षमा ठूलोबाबु श्रेष्ठ र बलेफी गाउँपालिकामा गङ्गाबहादुर तामाङ अध्यक्षमा उम्मेदवार बनाएको छ । 

साना दल र स्वतन्त्र उम्मेदवारी 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन जिल्लामा रहेका साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । धुलिखेल नगरपालिकाको प्रमुखका लागि चारवटा राजनीतिक दल, एक जना स्वतन्त्र उम्मेदवार गरी पाँच जनाको र दुई जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिकामा चार जना स्वतन्त्र, दुई राजनीतिक दलबाट गरी छ जनाले नगरप्रमुख, दुई राजनीतिक दल र एक स्वतन्त्र गरी तीन जनाले उपप्रमुख, नमोबुद्धमा राप्रपाको तर्फबाट प्रमुख, उपप्रमुखमा उम्मेदवारी परेको छ । 

ठूला दल तथा बाँकी साना दलले सोमबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेकोले सोमबार अबेरसम्म उम्मेदवारी दर्ताको काम हुने देखिएको छ । स्थानीय तह निर्वाचनका लागि काभ्रेमा छवटा राष्ट्रिय मान्यता प्राप्त र अन्य २४ दल गरी ३० वटा दलले दल दर्ता गरेका छन् । 

एमाले र राप्रपाद्वारा मनोनयन 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार नेकपा एमालेका तर्फबाट दोलखाका नौवटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरिएको छ ।  सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका–९ मा दलित सदस्यबाहेक र सबै तहमा प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायत ३८७ पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

सैलुङ गाउँपालिकामा अध्यक्ष धनबहादुर तामाङ र उपाध्यक्ष पार्वती थापा, मेलुङ गाउँपालिकामा अध्यक्ष हीरा थोकर र उपाध्यक्ष गायत्री आचार्य, कालिञ्चोक गाउँपालिकामा अध्यक्ष गणेश शिवाकोटी र उपाध्यक्ष कविता थामी, बिगु गाउँपालिकामा अध्यक्ष अचुतम केसी र उपाध्यक्ष देविका थामी, गौरी शङ्कर गाउँपालिकामा अध्यक्ष जङ्ग गुरुङ र उपाध्यक्ष मुना शिवाकोटी, वैतेश्वर गाउँपालिकामा अध्यक्ष माधवप्रसाद घिमिरे र उपाध्यक्ष नविना लामा, तामाकोसी गाउँपालिकामा अध्यक्ष अभिषेक सुवेदी र उपाध्यक्ष अम्बिका पोखरेलले मनोनयन गराउनुभएको छ । 

त्यसैगरी भीमेश्वर नगरपालिकामा हरिवंश चौलागाई नगरप्रमुख र उपप्रमुख कमला बस्नेत र जिरी नगरपालिकामा नगरप्रमुख मित्र जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकीले मनोनयन दर्ता गराउनुभएको छ ।